arrow

कोभिड–१९ : निजी सवारीप्रतिको आकर्षण बढ्दै

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
yatayat4.jpg

सञ्चिता घिमिरे, ललितपुर । ललितपुरको हरिसिद्धि बस्दै आउनुभएका रमेश न्यौपानेले गत साता मोटरसाइकल किन्नुभयो । सातदोबाटोमा कस्मेटिक्स पसल रहेका उहाँ पहिले दैनिक सार्वजनिक यातायातमा आउने जाने गर्नुभएको थियो । अहिले कोरोनाका त्रासका कारण आफ्नै साधनमा हिँड्ने उहाँको सोच छ । सामान्य अवस्थाभन्दा पनि विपद्का समयमा आफ्नो सवारीसाधन नहुँदा समस्या हुने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “समस्या भएकैले अहिले नै किनेर सिक्दै छु ।”

कोभिड–१९ त्रासका कारण सरकारले गरेको बन्दाबन्दीमा उहाँ घरमै बस्नुभयो र मोटरसाइकल सिक्नुभयो । सरकारले असार १ देखि निजी सवारीसाधन खुलाए पनि त्यतिबेला आफूसँग सवारीसाधन नभएकै कारण उहाँ पसल खोल्न सक्नुभएको थियो । त्यसपछि कति दिन हिँडेरै गएको उहाँले बताउनुभयो । दैनिक पाँच किमी हिँडेर जाने र आउने गर्दा गाह्रो भएको उहाँले बताउनुभयो । 

अहिले उहाँ सार्वजनिक बसबाटै आवतजावत गर्नुहुन्छ । अहिले एकातिर सार्वजनिक सवारीसाधन कम चलेका छन् भने अर्कातिर संक्रमणको जोखिम रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बिहान साँझमा त अझै बसमा पनि भीडभाड हुने गर्छ ।” विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सार्वजनिक यातायात कहिले बन्द त कहिले जोर÷बिजोरमा सञ्चालन गर्दा निजी सवारीसाधनप्रति नागरिकको आकर्षण बढिरहेको छ । 

अहिले सार्वजनिक सवारीसाधन कम सङ्ख्यामा चलेको र कतिपयमा सुरक्षाका उपाय अवलम्बन नगरेकाले पनि यात्रु निजीसवारीप्रति आकर्षित भएका हुन । कतिपय व्यक्ति नयाँ नै किन्ने त कतिपय व्यक्ति रिकन्डिसनमार्फत पूरानो मोटरसाइकल र स्कुटर किनिरहेका छन् । कतिपय बिक्रेताले किस्ताबन्दीमा नयाँ अफरसहित ग्राहकलाई आकर्षित गरेको पाइन्छ । 

यातायात व्यवस्था कार्यालयका अनुसार साउन १ देखि बिहीबारसम्म तीन हजार ६४१ दुई पाङ्ग्रे सवारीसाधन बिक्री भएको छ । असार महिनामा छ हजार ५६६ बिक्री भएको थियो । लामो समयसम्म बन्दाबन्दी भए पनि मोटरसाइकल र स्कुटरको खरिद बिक्री गत वर्षभन्दा कम नभएको कार्यालयका प्रमुख दीपककुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा नयाँ खरिद मात्रै नभएर नामसारीका लागि पनि धेरै सेवाग्राही आउने गरेका छन् । ‘सेकेण्ड ह्यान्ड’ व्यक्ति–व्यक्तिको किनबेच भइरहेको छ । उहाँले भन्नुभयो, “असारमा कार्यालय खुलेदेखि नै सेवाग्राहीको भीड छ ।”

सेवाग्राहीको एकै पटक भीडभाड हुने भएकाले कार्यालयले भीड कम गर्न जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधनको दर्ता गरिरहेको छ । उपत्यकाका अरु यातायात कार्यालयले टोकनमार्फत सीमित व्यक्ति मात्रै कार्यालयमा उपस्थित हुने वातावरण बनाएका छन् । सरकारले कार्यालय खुलाउने निर्णय गरेपछि उपत्यकामा रहेका सबै यातायात कार्यालयले सेवाग्राही भीड कम गरेर सेवा सञ्चालनको निर्णय गरेका थिए । यो कार्यालयले अहिले नयाँ दर्ता र नामसारी दुवैका लागि जोर÷बिजोर लागू गरेको छ । उहाँले भन्नुभयो, “नयाँ दर्ता तोकिएका दिनमा गरेर नामसारी जुन दिन आउँदा पनि सकेसम्म फर्काइएको छैन ।” 

तीन महिनाभन्दा बढी समयसम्म बन्दाबन्दी हुँदासमेत गत वर्षभन्दा छ हजार कम मात्रै दुईपाङ्ग्रे सवारीसाधन दर्ता भएका छन् । गत आवमा ७३ हजार ३३१ सवारीसाधन दर्ता भएका थिए । आव २०७५÷७६ मा ७९ हजार ३०० र आव २०७४÷७५ मा एक लाख पाँच हजार ८६३ सवारीसाधन दर्ता भएका थिए । 

नयाँ खरिद र नामसारी बढिरहँदा कार्यालयमा जम्मा हुने राजस्व गत वर्षभन्दा बढी हुने देखिएको छ । गत बर्ष साउनमा रु ११ करोड २८ लाख छ हजार १३१ राजस्व सङ्कलन भएको थियो । बिहीबारसम्ममा रु १२ करोड ७५ लाख १२ हजार ४६६ सङ्कलन भइसकेको छ । गत वर्ष असारमा रु १२ करोड ९९ लाख ८७ हजार ९६३ राजस्व सङ्कलन भएको थियो भने यो असारमा रु छ करोड ७४ लाख २१ हजार ३३८ सङ्कलन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ