arrow

कोरोना संक्रमणको उच्च जोखिममा प्रदेश नं २

logo
प्रभाषचन्द्र झा,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
covid-test-positive-corona.jpg

जनकपुर । प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ । 

निषेधाज्ञाको पालना गर्नुपर्ने विषयमा सर्वसाधारण जागरुक हुन नसक्नु, आफूलाई कोरोना नलाग्ने भ्रमले समाजिक दूरी कायम नगर्नु र कतिपयले मास्क प्रयोग नगरी भीडभाड ठाउँमा पुग्ने गरिएको कारणले कोरोना संक्रमणमा निरन्तर वृद्धि भइरहेको देखिएको हो । यो प्रदेशको सप्तरी, सर्लाही, पर्सा जिल्लाभर र धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर बजारमा साउन २६ गतेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने आजदेखि सिराहाको लहानमा पनि साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिहीबार आफू कोरोनाबाट संक्रमित भएको विषय सार्वजनिक गरेर आफ्नो सम्पर्कमा आएका सबैलाई पिसिआर प्रविधिबाट परीक्षण गराउन आह्वान गरेका हुन् । उनी बिहीबारदेखि आफ्नै निवासमा आइसोलेशनमा बसेर उपचार गराइरहेका छन्। उनको दोस्रोपटक पनि स्वाबको परीक्षणको नतिजा पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय जनकपुरले जनाएको छ ।

यस प्रदेशका अस्थायी राजधानी जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, समाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका केही कर्मचारी कोरोनाबाट संक्रमित भएपछि मन्त्रालय सुनसानको अवस्थामा देखिन थालिएको छ । अतिआवश्यक कामबाहेक कर्मचारी आआफ्नै घरबाट काम गरिरहेका छन् । सेवाग्राही पनि कोरोनाको डरले आउन छोडेपछि मन्त्रालयका साथै जनकपुरका अधिकांश कार्यालय सुनसानको अवस्थामा पुगेको हो ।

यस प्रदेशको आठवटै जिल्ला भारतसँग जोडिएको छ । भारतमा कोरोनाको संक्रमण उच्च अवस्थामा पुगेको छ । भारतीय सीमावर्ती क्षेत्रका कतिपय बासिन्दा कोरोनाबाट संक्रमित रहेको पाइएको छ । सीमावर्ती क्षेत्रबाट लुकिछिपी नेपाल पस्ने गरेकाले कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।

यस सम्बन्धमा, मुख्यमन्त्री लालबाबु राउतले केही दिनअघि सुरक्षा समितिको बैठक आह्वान गरी भारतीय सीमावर्ती क्षेत्रबाट अनिधिकृत रुपमा पस्न नदिनका लागि सुरक्षा सयन्त्रलाई अझ कडाइ गर्न निर्देशन दिएका थिए । साउन १२ गतेसम्म यस प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या चार हजार ४३३ थियो भने साउन २२ गतेसम्म क्रमिकरुपमा संक्रमितको सङ्ख्यामा वृद्धि भई पाँच हजार ३३५ पुगेको छ । यस प्रदेशको पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित छ । 
 
यस प्रदेशमा कोरोनाबाट संक्रमित भएका कारण बिहीबार अपराह्नसम्म २२ जनाको मृत्यु भइसकेको छ । सोमध्ये सवैभन्दा बढी पर्साबाट १४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा कोरोना संक्रमणको सङ्ख्याको पर्सा, धनुषा र सप्तरी जिल्लामा अत्यधिकरुपमा वृद्धि भएको छ । कर्मचारी, स्वास्थ्यकर्मी, नेपाली सेना र सुरक्षाकर्मीमा विगतको तुलनामा अत्यधिकरुपमा संक्रमित हुन थालेपछि सर्वसाधारणमा थप त्रास बढेको देखिएको छ ।

कोरोना संक्रमणबाट जोगिनका लागि सबैभन्दा पहिले आफू सचेत हुनुपर्ने, विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको उपाय र सचेतना पालना गर्न गराउनेतर्फ सबैलाई सजग भएर जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्ने देखिएको रामयुवा कमिटीका पूर्वअध्यक्ष प्रमोदकुमार चौधरीको सुझाव छ ।

संक्रमितको सङ्ख्या पाँच हजार ५१४ 
पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा ३१ महिलासहित १७९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सा जिल्लामा १३३ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा सप्तरीमा १८, धनुषामा १०, सर्लाहीमा नौ, रौतहटमा चार र बारामा पाँच जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको सङ्ख्या पाँच हजार ५१४ पुगेको समाजिक विकास मन्त्रालयद्वारा आज जारी गरिएको तथ्याङ्कमा उल्लेख छ । 

यस प्रदेशमा संक्रमणबाट निको भएर घर फर्किनेको सङ्ख्या तीन हजार ३०४ छन् । कोरोना संक्रमणबाट यस प्रदेशमा हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । एक सातादेखि क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा क्रमिकरुपमा वृद्धि हुन थालेको छ । प्रदेशअन्तर्गत २२८ वटा क्वारेन्टिनमा अहिले एक हजार २८९, होम क्वारेन्टिनमा दुई हजार ६९१ र आइसोलेशन कक्षमा एक हजार ७२ जना बसेका छन् । यो प्रदेशमा अहिलेसम्म ६६ हजार १५६ जनाको स्वाबको नमूनाको परीक्षण गरिएकामा ५६ हजार ४८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार १६० जनाको रिपोर्ट आउन बाँकी छ ।

मुख्य प्रशासनिक (मधेश) भवनमा प्रवेश निषेध
प्रादेशिक अस्पताल जनकपुरका पाँच जना कर्मचारीसहित प्रदेश नं २ मा चिकित्सक, सेना, प्रहरी, कर्मचरी र कारागारमा रहेको कैदीबन्दीलगायतमा कोरोना संक्रमण भेटिएपछि सबैमा त्रास बढेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा कमलेशप्रसाद यादवले जानकारी दिए ।

प्रदेश नं २ का मन्त्री र कर्मचारीमा कोरोना देखिएपछि मुख्य प्रशासनिक भवनमा (मधेश) भवनमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य डा रिना यादव, मुख्यमन्त्री कार्यालय र समाजिक विकास मन्त्रालयका कर्मचारीमा संक्रमण भेटिएपछि प्रदेश नंं २ सरकारको मुख्यालय तथा प्रशासनिक निकाय भएको मधेश भवन सुनसान देखिएको छ ।

कोरोना संक्रमण फैलिन सक्ने भन्दै मुख्यमन्त्रीसहित केही मन्त्री वर्क फ्रम होम अर्थात् निवासबाटै कार्य सञ्चालनमा जुटेको छन् भने केही मन्त्री आफ्नो गृह जिल्ला पुगेका छन् । मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार संक्रमित कर्मचारीहरु आइसोलेशनमा भर्ना भएका छन् भने केही कर्मचारी निवासबाटै काम गरिरहेका छन् । मन्त्रालयका अधिकांश शाखामा ताल्चा लगाइएको छ । 

मधेश भवनको मुख्यद्वारमा सुरक्षार्थ खटेका सुरक्षाकर्मीले सर्वसाधारणलाई भवनमा प्रवेश दिएका छैनन् । मन्त्रीको निर्देशनबमोजिम अनुमतिविना कसैलाई भित्र प्रवेश गर्न दिइएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृतसहित छ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले हालका लागि सो कार्यालय सिल गरिएको सूचना टाँस गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवसहित आठ कर्मचारी, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारी तथा मुख्यमन्त्री कार्यालयका छ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अरुमा पनि संक्रमण सर्ने जोखिम देखिएपछि सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ