arrow

जीवनरक्षा र कोरोनाविरुद्ध युद्धस्तरमा कार्य गर्न अपिल

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने माग गर्दै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गर्न सरकारसँग माग गरेको छ । 
 
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्तिमार्फत अनशनमा बसेको २० दिन पूरा भइसक्दा पनि ठोस संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै अनशनरत युवाको भावनालाई अविलम्ब सम्बोधन गरी जीवनरक्षा गर्न अपिल गरेका हुन्। साथै उनले कोरोनाविरुद्धको सङ्घर्षमा बढेको चुनौती सामना गर्ने ढङ्गले नवीन रणनीति एवं अपेक्षित गतिका साथ कार्य गर्न सरकारसँग मागसमेत गरेका छन्।
 
कोरोनाविरुद्धको सङ्घर्षमा युद्धस्तरमा कार्य गर्न काँग्रेसले शुरुआतदेखि नै विभिन्न सुझाव र मागअघि सार्दै आएको उल्लेख गर्दै उनले पर्याप्त स्वास्थ्य सामग्री व्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कारवाही, समुदायस्तरमा व्यापक पिसिआर परीक्षण, मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक व्यवस्था, विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई निःशुल्क उद्धार, सीमानाकामा कडाइलगायतका माग पुनःदोहोर्‍याएका छन् ।
 
जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारी बोध र शासकीय क्षमता दुवै कुरा सरकारसँग नदेखिएको आरोप लगाउँदै उनले परिणाममा सरकारकाविरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शन हुनु स्वाभाविक भएको बताएका छन् । 

 प्रवक्ता शर्माले विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका बताउँदै सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकार गरेको सम्झौता पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ