राष्ट्रपतिले भनिन्- कोरोना नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी
संक्रमितको संख्या बढेकामा राष्ट्रपतिद्वारा चिन्ता व्यक्त
प्रकाशित २०७७ साउन २३ शुक्रबार
489
Shares
काठमाडौँ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताएकी छन्।
राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलसहित सम्बन्धित मन्त्रीहरुबाट महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी लिएपछि सो कुरा बताएकी हुन्।
उनले बन्दाबन्दीको कारण सहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकले रोजगारी गुमाउनु परेको र हालैका दिनमा संक्रमितको सङ्ख्या बढेकामा चिन्ता व्यक्त गर्दै भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड सबैबाट पालना गरिनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए ।