बाँकेमा सशस्त्रद्वारा सुर्तीजन्य सामाग्रीसहित ३ वटा भारतीय मोटरसाइकल बरामद
प्रकाशित २०७७ साउन २९ बिहिबार
541
Shares
नेपालगन्ज । बाँकेमा सशस्त्र प्रहरीले भारतबाट ल्याउदै गरिएको ठुलो परिमाणको सुर्तीजन्य सामाग्रीसहित ३ वटा मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बलको नरैनापुर बिओपीका सशस्त्र प्रहरी निरीक्षक खडक बहादुर थापाको कमान्डको टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर ३ को रतैया भन्ने स्थानबाट गएराती १ बजे ५४१ पोका सुपरपावर सुर्तीसहित तस्करीमा प्रयोग भएका तीन वटा भारतीय मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।
बरामद गरिएको सुर्तीजन्य सामाग्री र मोटरसाइकलको मूल्य १ लाख ८८ हजार ४४५ रुपैयाँ रहेको सशस्त्र प्रहरीले बताएको छ। बरामद गरिएका मोटरसाइकल र सुर्तीजन्य सामाग्रीलाई आबश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय बुझाइने भएको छ।
सशस्त्र प्रहरीमा बाँकेमा भर्खरै सरुवा भएर आएका एसपी अशोक बमले तस्करी रोक्न कुनै कसर बाँकि नराखेर काम गर्न निर्देशन दिदै आएका छन् ।