दश दिन पछि भेटे केपी र प्रचण्ड, महाधिवेशन आयोजक समितिको एकल नेतृत्व गर्न प्रचण्डलाई प्रस्ताव
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २९ बिहिबार
498
Shares
काठमाडौं। नेकपा आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्ता आजलाई सकिएको छ। १० दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानी विवाद समाधान उन्मुख भएको पार्टीका नेताहरुले जनाएका छन्। ‘आजको छलफल समाधान उन्मुख छ। भोलि पनि वार्ता जारी राख्ने समझदारी बनेको छ’, दाहालका प्रेस सहयोगी विष्णु सापकोटाले बताए।
ओली दाहालबीच गत साउन २० गतेपछि भेटघाट हुन सकेको थिएन। २१ गते साँझ ५ बजे वार्ता तय भएको भए पनि त्यसदिन दाहाल समूहले काठमाडौंमा पत्रकार भेला गरेर पार्टीको आन्तरिक विवाद बारे बोलेपछि ओली चिढिएर छलफल नै स्थगित गरेका थिए।
ओली र प्रचण्डबीच केन्द्रित कुराकानीबारे विस्तृतमा नखुलाइए पनि विभिन्न विकल्पमा छलफल भइरहेको छ। पछिल्लो कुराकानीमा ओलीले महाधिवेशन आयोजक कमिटी गठन गर्ने र त्यसको एकल नेतृत्व गर्न प्रचण्डलाई प्रस्ताव गरेको बुझिएको छ।
स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले महाधिवेशन आयोजक कमिटी बनाएर जाने पनि एउटा विकल्प भएको बताएका छन्। तर यो वीचमा वामदेव गौतमले राखेको छ बुँदे प्रस्ताव भने अलपत्र परेको छ।