arrow

लिदी पहिरो:  ३६ जना सम्पर्कविहीन

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
jugal-pahiro.jpg

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरामा परेकाको उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ ।

उद्धारका लागि नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङ, नेकपा नेता सरल सहयात्री, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङसहितको टोली हेलिकप्टर लिएर जुगलको लिदी पुगेको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

लिदीमा फेरि झर्‍यो पहिरो
लिदीमा बिहान ६ बजे गएको पहिरामा परी घाइते भएका तथा मृतकको सनाखत हुन नपाउँदै फेरि बिहान १० बजे सुख्खा पहिरो झरेको छ । उद्धार गर्दैगर्दै फेरि पहिरो झरेका कारण थप केही मानवीय क्षति हुनाका साथै केही घर पुरिएको गुगल गाउँपालिका– ५ का वडाध्यक्ष सनतकुमार अधिकारीले जानकारी दिए । “घाइतेको उद्धार गर्दागर्दै फेरि पहिरो गयो, थप केही मानवीय क्षति हुनुका साथै घर पुरेको छ”, उनले भने। थप गएको पहिरामा कति क्षति भयो भन्ने यकिन हुन नसकेको उनले बताउए । 

पहिरोमा १८ घर पुरिएका र  ३६ जना सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पहिरामा परी गम्भीर घाइते पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी  सदरमुकामस्थित चौतारा अस्पतालमा उपचार भइरहेको जानकारी दिए । 

 घटनाको जानकारी पाएलगत्तै जलबिरेस्थित इलाका प्रहरी कार्यालयबाट  टोली त्यसतर्फ  गएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । घाइतेको उद्धारका लागि मनाङ एयरको हेलिकप्टर पनि घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । करिब एक किलोमिटरमाथिबाट झरेको पहिराले अन्य २५ घर उच्च जोखिममा रहेको र पहिरो झर्नेक्रम नरोकिएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । 
    
घाइतेको उद्धारका लागि नेपाली सेनाको टोली पनि त्यसतर्फ जाँदै गरेको बताइएको छ । २०७२ सालको भूकम्पले थिलथिलो पारेको ठाडो भिरालो जमिनमा शिवश्री हाइड्रो पावरले विद्युतगृहको सुरुङ निर्माण गर्ने क्रममा विस्फोटक पदार्थले जमिन थर्किएकाले पहिरो स्थानीयवासीले आरोप लगाएका छन् । 
 
लिदीबाट पहिलो चरणमा सिकिस्त घाइते भएका दुई महिला र दुई पुरूषलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ । घाइतेलाई हेलिकप्टरबाट चौतारा ल्याई उपचारका लागि पठाइएको हो । अन्यको उद्धार जारी राखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ