arrow

पहिरामा परेर एकै दिन १७ को मृत्यु, २८ बेपत्ता

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
gugal-pahiro.jpg

काठमाडौँ ।  मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । 

सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिए । बेपत्ता भएकाको खोजी जारी छ । 

स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिराबाट जोगिएनन् । स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन ।

शुक्रबारै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिराग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गरेका छन् । पाँच घाइतेलाई उपचार गरेर अस्पताल ल्याइएको छ । यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पुर्‍याइएको छ । 

ओस्तीका अनुसार कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरामा परेर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते छन् । माथिबाट पहिराले उनीहरुको घर थिचेको थियो ।

मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा शुक्रबार एक जनाको मृत्यु भएको ओस्तीले जानकारी दिए । सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ ।

यो वर्षको वैशाखदेखि शुक्रबारसम्म पहिरामा परेर २०६ जनाको मृत्यु भएको छ । अझै ७१ जना बेपत्ता छन् । १६० भन्दा बढी घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ