arrow

सिन्धुपाल्चोकको पहिरोमा दोषी सरकार कि पहिरो?

जनताको गुहार नसुन्ने राज्यको ब्यस्तता कि बेवास्ता ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ३१ शनिबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने लिदीमा गएको पहिरोमा परेर जीवन गुमाएकालाई श्रद्धाञ्जली एवं बाँचेकाहरुलाई उपचार र राहतको कर्तव्य देशले निर्वाह गरिरहँदा घटनासँग गाँसिएको गम्भीर प्रश्नबारे गम्भीर बहसको आवश्यकता रहेको भन्दै नेपाली कांग्रेस सार्वजनिक रुपले प्रश्न उठाएको छ। 

जुगल गाउँपालिकाको वडा नं २ का लिदी, नाम्फा, सानोनाम्फा, निम्लुङ, सँच गाउँ आदि वस्तीहरुका जनताले पहिरोको जोखिम बुझेर करिब दस दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार पुगेन बरु जीवन लिन पहिरो पुग्यो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केहि गम्भिर सवालहरु उठाएका छन्। सार्वजनिक रुपमा सरकारमाथि गम्भिर प्रश्न उठाउँदै उनले भनेका छन्, 'यतिबेला सिंगो देशको ध्यान पहिरोले गरेको जनधनको क्षति उपर केन्द्रित हुनु स्वभाविक हो तर पहिरोमा जसले जीवन गुमाए तिनले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्नु तर सरकारको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनलाई जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेक्र्याईं मात्रै होईन राज्यको अक्षम्य गल्ती हो। प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामर्थ्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्व सूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो।'

कांग्रेस प्रवक्ता शर्माले सार्वजनिक रुपमा प्रश्न गर्दै भनेका छन्, 'जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ? जनताको जीवनप्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठुलो उदाहरण अर्को के हुनसक्छ ?'

कोरोनाको महामारीसँग जुध्न असफल भइ रहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको कांग्रेसको ठहर छ । कोरोनाको बढ्दो आक्रामकता र देशका विभिन्न स्थानमा बाढी पहिरोको निर्मम चोटप्रति गम्भीर तदारुकतासाथ कार्य गर्न नेपाली कांग्रेस फेरि पनि नेकपाको सरकारसंगै तीनै तहका सरकारहरुलाई अपिल गर्दछ !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ