arrow

कार्यदलको बैधानिकतामाथि तीन नेताको प्रश्न 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ३१ शनिबार
oli-prachanda-madhav-jhalanath.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद सुल्झाउन बनेको ६ सदस्यीय कार्यदलमाथि तीन शीर्ष नेताहरुले बैधानिकताको प्रश्न उठाएका छन् । तीन  शीर्ष तीन नेताहरु वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कमिटीको कुनैपनि निर्णयले कार्यदल गठन नभएकाले बैधानिक नभएको भन्दै प्रश्न उठाएका हुन् । 

कार्यदल बनाएपछि वालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भएको संवादबारे छलफल गर्न खुमलटारस्थित दाहाल निवास पुगेका नेताहरुले कार्यदल बनाएको भन्दा पनि कार्यदल गठनको प्रकृयाबारे प्रश्न उठाएका थिए । शुक्रबार ओली र दाहालले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेर विवाद समाधान गर्ने उपाए निकालेका थिए । 

दुई अध्यक्षबीच भएको छलफलको ब्रिफिङ सुन्न शनिवार विहान उनीहरु खुमलटार दाहाल निवास पुगेका थिए । कार्यदल बनाउँदा पनि सचिवालय बैठकबाट बनाएको भए राम्रो सन्देश जान्थ्यो कम्तीमा विधिको प्रयोग हुन्थ्यो यसमा अध्यक्षद्धयको ध्यान पुगेन कि विधि मिच्दै जाँदा हुन्छ भनेर यसो गरिएको भन्ने प्रश्न उनीहरुले प्रचण्डलाई गरेका थिए । 

वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक बसेर विवाद निरुपण गर्नुपर्ने र कार्यदल बनाउनु परेपनि त्यहीबाट बनाएको भए राम्रो हुन्थ्यो भनेका थिए । शुक्रबार अध्यक्षद्वयले महासचिव विष्णु पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, जनार्दन शर्मा, फम्पा भुसाल सदस्य रहेकोको कार्यदल बनाएका थिए । कार्यदलको पहिलो बैठक शनिवार बसेको छ । महासचिव पौडेलको भैंसेपाटीस्थित निवासमा बसेको बैठकमा संयोजकसहित ६ जना सदस्यहरुले आन्तरिक विवाद बढ्नुको कारण त्यसको समाधान र अन्य विषयहरुबारे छलफल गरेका छन् ।  

शनिवारको बैठकमा विषयगत छलफल भएको बताइएको छ । छलफलपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डबीच सहमत भएका विषयलाई लिखित रुप दिने र सहमति जुट्न नसकेका विषयमा मध्यमार्गी बाटो खोज्नेमा कार्यदलका नेताहरु सहमत भएका छन् । कार्यदललाई पार्टी विवाद समाधान खोज्ने जिम्मेवारी दिइएको छ । कार्यदलले समस्या के हुन् र समाधान के हुन सक्छ भन्ने विषयमा विस्तारपूर्वक छलफल गरेर प्रतिवेदन तयार गर्नेछ ।  

तीन महिना लामो आन्तरिक विवादमा गुज्रेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अब प्याकेजमै सहमति गरेर विवाद टुग्यांउन कार्यदल गठन भएको हो  । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पमकल दाहालबीच विहिबार र शुक्रबार भएको संवादपछि महासचिव  पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको र त्यसले दिएको सुझावको आधारमा पार्टीभित्रको विवादलाई प्याकेजमै सुल्झाइने कार्यदलका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार कार्यदलले दुई अध्यक्षको कार्यविभाजन, अधिकार बाँडफाँडदेखि एकता महाधिवेशनको कार्यतालिकाबारे सिफारिस गर्नेछ । साथै, पार्टीको वैचारिक राजनीतिक बहस, आलोचना, आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, विवादित नियुक्ति बदर, राजनीतिक नियुक्तिमा संस्थागत निर्णय, मुख्यमन्त्री हेरफेरलगायत समग्र विषयमा केन्द्रित रहेर छलफल गर्नेछ। त्यहीअनुसारको एकीकृत प्रस्ताव तयार पार्नेछ । कार्यदलले दुई अध्यक्षलाई प्रस्ताव बुझाइसकेपछि त्यसलाई सचिवालय हुँदै स्थायी समितिमा लैजाने समझदारी बनेको नेताहरूको भनाइ छ । पार्टीभित्रको विवाद समाधानका लागि गत साउन १३ मा उपाध्यक्ष वामदेव गौतमले अगाडि सारेको ६ बुँदे प्रस्ताव वरिपरि रहेर दुई अध्यक्षबीच बिहीबार र शुक्रबार छलफल भएको थियो । कार्यदलले पनि त्यसकै नजिक रहेर प्रस्ताव बनाउन सक्ने बताइएपनि त्यसबारेमा केही बोलिएको छैन । 

गौतमले प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री र एकता महाधिवेशनसम्म अध्यक्षमा ओली रहने, एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दाहालले लिने, एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक तथा संवैधानिक नियुक्ति पार्टी सचिवालयको सुझाव र परामर्शका आधारमा गर्ने, सरकारले लिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयको निर्णयमा पार्टीको सचिवालयमा परामर्श गर्ने जस्ता ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ