तटबन्धमा काम गर्न रोक लगाएर जनताको जीवनमाथि खेलवाड
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २ मंगलबार
936
Shares
काठमाडौं। भारतीय ठेकेदारबाट उठाउनुपर्ने राजश्व उठाउन नसकेका कोशी परियोजना विराटनगरका लेजन अफिसर सन्तोष लिम्बु त्यहाँका स्थानीयहरुका बारेमा चासो दिनुभन्दा पनि रमाइलोमा लागेका छन्। एकातिर कोरोनाको कहर छ भने अर्कोतिर कोशीको वाढी र डुवानको खतरा। तर यि दुबै कुरालाई वेवास्ता गर्दै लेजन अफिसर लिम्बु भने परिवार र अन्य आफन्त लिएर कोशी टप्पुमा सफारिमा निस्किएका छन्।
बर्खाको समयमा कोशी नदीमा बाढी आएर स्थानीय डुबानमा पर्ने खतरा रहेकै बेला एकातिर लेजन अफिसर लिम्बु परिवार सहित पिकनिकमा छन् भने अर्कातिर उनले डुबानमा पर्नबाट जोगाउन काम गर्ने श्रमिकलाई रोकेर जनताको जीवनमाथि खेलवाड गरेको आरोप लागेको छ।
बर्खाको समय कोशीमा आउने सम्भावित बाढीबाट स्थानीयलाई जोगाउन मजदूर, ठेकेदार तथा श्रमिकलाई तयारी अवस्थामा राख्नुपर्ने विराटनगर लेजन अफिसको कर्तव्य हो। तर, अहिले बाढीको जोखिम उच्च रहेका बेला लेजन अफिसर लिम्बुले ठेकेदार र श्रमिकलाई काम गर्नबाट रोकेका छन्।
शनिबार राती मात्रै संखुवासभाको अरुण खोलामा आएको बाढीका कारण कोशीमा झण्डै ३ लाख क्युसेक पानीको बहाव पुगेको थियो। कोशी नदीमा ३ लाख क्युसेक पानीको बहाव पुग्नु भनेको उच्च जोखिमको संकेत हो। ‘कतिखेर के हुन्छ केही ग्यारेन्टी हुँदैन’ परियोजना स्रोत भन्छ, ‘सम्भावित जोखिम रोक्नका लागि सयौंको सँख्यामा श्रमिक र ठेकेदार स्ट्याण्डबाई राख्नुपर्ने हो। तर, लेजन अफिसर शक्तिको आडमा मोजमस्तीमा रमाउँदै जिम्मेवारीबाट पन्छिदै आएका छन्।’
तटबन्ध बनाउनेहरुलाई रोकेर लिम्बुले जनताको जीवनसँग खेलवाड गर्न खोजेको स्थानियको गुनासो छ। तटबन्ध बनाउने ठेकेदार तथा श्रमिकलाई गाडीको पास नदिने र मोजमस्ती गर्नेहरुलाई लिम्बुले गाडीको पास समेत उपलब्ध गराउने गरेको परियोजना स्रोत बताउँछ।
स्रोतका अनुसार सोमबार बिहान मात्रै लिम्बुले एक जना हाकिमलाई मोजमस्ती गर्न कोशी परियोजना क्षेत्रमा पास उपलब्ध गराएका थिए। सोमबार बिहानै भारतीय नम्बर प्लेटको कालो कारमा परियोजना क्षेत्रमा देखिएको त्यहाँका स्थानीयहरु बताउँछन्।
परियोजनाका लेजन अफिसर लिम्बुले कोरोना फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयबाट भएको आदेश अनुसार परियोजना क्षेत्रमा आवतजावत रोकेको र पछिल्लो समय काम पनि रोकेको बताउँदै आएका छन्। जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गरेर ठेकेदारलाई सवारी पास दिन पहल भइरहेको लिम्बुले बताए पनि त्यसका प्रगति भने देखिएको छैन्।
कोरोना संक्रमण रोकथामको लागि ठेकेदार र मजदुरका सवारी साधनलाई सवारी पास नदिएको बताउने लिम्बुले आफु भने हुल वाँधेर घुमघाम गरिरहेका छन्। मान्छेको समुहमा मास्क समेत नलगाइकनै लिम्बुले कोशीटप्पु वन्यजन्तु आरक्ष भ्रमण गरेका फोटो सार्वजनिक गरेका छन्। लिम्बुले कोरोना संक्रमणकै उच्च जोखिमबीच स्वास्थ सम्बन्धि मापदण्ड कुल्चेर विन्दास घुमघाम गरिरहेका छन्।
कोरोनाकै संक्रमण बढ्ने भनेरै सवारी पास उपलब्ध नगराएको बताउने लिम्बुले कोशीमा आउने सम्भावित बाढीबाट मात्रै त्यहाँका स्थानीयको जीवनमाथि खेलवाड गरेका छैनन्, स्वास्थ सम्बन्धि अपनाउनु पर्ने मापदण्ड नअपनाएर घुमघाम गरेर संक्रमण समेतको खतरा हुनेगरी हिडेकोमा स्थानीयले आपत्ती जनाएका छन्।
लिम्बुले भारतीय ठेकेदारबाट उठाउनु पर्ने करिब १६ करोड रुपैयाँ राजश्व उठाउन नसकेपछि अहिले राजस्व बुझाएका कम्पनीका सवारीलाई पनि पास नदिएर शक्तिको दुरुपयोग गरिरहेका छन्।