arrow

कर्मचारी, वकिललगायत नौ व्यक्तिमा संक्रमण देखिएपछि...

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
covid-test-positive-corona.jpg

तेह्रथुम । एकै दिन नौ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन् । 

कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्रथुममा सरकारी कर्मचारी, वकिललगायत नौ व्यक्तिमा संक्रमण देखिएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले अत्यावश्यक सेवाअन्तर्गत खाद्यान्न तथा सब्जी पसल किहान ७ बजेदेखि ९ बजेसम्म सतर्कतापूर्वक खोल्न भने अनुमति दिएको छ । 

प्रशासनले अत्यावश्यक बाहेक सवारीका साधन सञ्चालन र हिँडडुलमा समेत रोक लगाइएको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मौका उठाई अत्यावाश्यक वस्तुको कालोबजारी, जम्माखोरी, कृत्रिम अभाव तथा मूल्य वृद्धि भएको पाइए कडाइका साथ कारबाही गरिने जनाएको छ । प्रशासनले निषेधाज्ञाको पालना गरी कोभिड–१९ संक्रमण फैलनबाट रोक्न जिल्लावासीलाई आह्वानसमेत गरेको छ ।

स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेका अनुसार यही भदौ १ गते परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ७४ वटा नमूनामध्ये नौ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । उनीहरुमध्ये तीन महिला छन् । 

कन्ट्याक्ट ट्रेसिङबाट लिइएका थप सात वटा नमूना परीक्षणको रिपोर्ट आउन बाँकी छ । घिमिरेका अनुसार परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमार्फत सम्पर्कमा रहेका अन्य व्यक्तिको स्वाब लिई परीक्षण गर्दा ठूलो सङ्ख्यामा संक्रमित देखिएका हुन् ।

 कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब लिने क्रम अझै जारी रहेको घिमिरेले बताउनुभयो । तेह्रथुममा अहिले सक्रिय संक्रमितको सङ्ख्या १० पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ