arrow

कोरोना दृष्टान्त !

logo
हाम्राकुरा डेस्क, 
प्रकाशित २०७७ भदौ ६ शनिबार
corona-virus-jageshwor-gaut.jpg

दृष्टान्त १  नेपालमा शुक्रबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । मृतकको संखया १३७ पुगेको छ । शुक्रबार एकै दिन ११ जनाको ज्यान गयो । निको हुनेहरु १८ हजार २१४ जना रहेका छन् । 

१२ हजार २३४ जना क्वारेन्टिनमा छन् । १२ हजार १३२ जना आइसोलेसनमा रहेका छन् । 

अहिलेसम्म ५ लाख ७९ हजार ८९९ वटा मात्र पीसीआर परीक्षण भएको छ । प्रभावकारी केही पनि नभएको आरडीटी परीक्षण ३ लाख १२ हजार ४०२ वटा गरिएको छ । 

दृष्टान्त २  सरकारले अहिलेसम्म कोरोना भाइरसको रोकथामका नाममा १२ अर्ब रुपैयाँ स्वाहा गरेको छ । 
अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार असार मसान्तसम्म संघीय सरकारबाट पाँच अर्ब ८४ करोड ७९ लाख र प्रदेश तथा स्थानीय तहबाट ६ अर्ब दुई करोड खर्च भएको छ । साउनमा थप १० करोड ७० लाख गरी कोभिड शीर्षकमा अहिलेसम्म जम्मा ११ अर्ब ९८ करोड ३१ लाख खर्च भएको छ । 

दृष्टान्त ३  हजारौं नेपालीले परीक्षण गर्न पाएका छैनन् । भारतबाट निरन्तर भित्र छिरेकाहरुलाई बिना परीक्षण घर पठाइएको छ । उनीहरुलाई क्वारेन्टिनमा समेत राखिएको छैन । उनीहरु क्वारेन्टिनमा बसे पनि एकै कोठामा अधिक मानिसहरु राखिन्छ । नभएको कोरोना पनि त्यही कोठामा बसेकै भरमा झन् बढी सरेको छ । व्यवस्थित क्वारेन्टिन नभएरै कतिपयको क्वारेन्टिनमै रहेका अवस्थामा ज्यान गएको छ । 

दृष्टान्त ४ कतिपय कोरोना संक्रमितले उपचार नै पाएका छैनन् । उनीहरुलाई अस्पतालमा बस्ने ठाउँ नै छैन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंवासी कोही पनि कोरोनाले मर्नुनपर्ने भनी सार्वजनिक रुपमा भन्छन् तर संक्रमितले घरमै बसिरहनु परेको छ । उनी नौ जनाको कोरोनाबाट काठमाडौंमा ज्यान गएको र ती कोरोनाबाट मात्र नभई पहिलेदेखिका दीर्घरोगी भएको बताइरहेका छन् । काठमाडौंमा अस्पतालै अस्पताल भएको उनको तर्क छ । 

दृष्टान्त ५  कोरोनाका मतियार को बनिरहेका छन् ? सुरक्षाकर्मी, नेताहरु, सरकार, कर्मचारी वा को ? नाका ठप्प पार्न नसक्नु, दैनिक आवतजावत भइरहनु, कुनै परीक्षण बिना ओहोरदोहोर जताततै हुनु र भयावह हुँदा निषेधाज्ञा गरेजस्तो गर्नु, जसरी पहिले चैत ११ गते लकडाउन लाग्दा नियममा कडाइ गरियो त्यस्तो नियम त अहिले निषेधाज्ञा गर्दासमेत छैन । 

दृष्टान्त ६  सरकार आफै फैलाइरहेछ कोरोना । आफै नियम बनाउने आफै तोड्ने । आफै जमघट गर्ने । भलै यसले उनीहरुलाई बेफाइदा पुगेन होला । तर के त्यसको सिको सर्वसाधारणले गरेनन् त ? जब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले नियमित प्रेस ब्रिफिङ गरिरहँदा मज्जैले नाक छुन्छन् भने त्यो हेरिरहेका सर्वसाधारणले सिको गर्ने कि धित्कार्ने ? आखिर कहिले सप्रिन्छ सरकार ? कहिले सप्रिन्छन् कर्मचारी ? 

दृष्टान्त ७ कोरोनाका बेलामा कसरी हुन्छ भ्रष्टाचार गरौं भन्ने मानसिकता संघीयदेखि स्थानीय सरकारसम्मलाई छ । एउटा सिरानीको खोलको २८ सय र तन्नाको ८ हजारसम्म बिल बनाउने, अनि एउटा ४ लाखको मेसिनलाई १४ लाखको बिल बनाउने र पैसा भ्रष्टाचार गर्नेलाई के भन्ने ? अनि प्रधानमन्त्री केपी शर्मा ओली जप्छन्, ‘भ्रष्टाचारमा शून्य सहनशीलता’ । 

दृष्टान्त ‘शून्य’ 
परिकल्पना गर्न नसकिने गरी नेपालमा कोरोना भाइरसका संक्रमित बढेका छन् । त्यसलाई न्यूनीकरण गर्न भन्दा पनि उनीहरुलाई व्यवस्थापन गर्नतिर सरकार लागेको छ । जसरी स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङ गर्छ त्यसैगरी सबै कार्यक्रमहरु त्यसरी नै दिन सकिन्छ । 

तर यहाँ पाँच जनाभन्दा बढी एकै ठाउँमा भेला नहुने र सामाजिक दूरी कायम गर्नुपर्ने बेलामा त्यतातिर सरकार, प्रधानमन्त्री, मन्त्रीहरु कोही पनि सजग छैनन् । उनीहरु नै सजग नभएपछि उनीहरुले दिने सन्देश बालुवामा पानी हालेसरह हुन् । 

यस्ता गतिविधि नगर्ने हो भने उनीहरुको आम्दानीको स्रोत बन्द हुन्छ । लाखौं नेपाली खान नपाएरै कोरोनाले भन्दा पहिले मर्ने बेला भइसकेको छ उनीहरुलाई ब्यापार बढाउनुको चिन्ता भइरहेको छ । 

चैतदेखि साउन मसान्तसम्म मात्रै ११ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ खर्च गरेको सरकारका प्रवक्ता अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिएका छन् । अर्थात् यसअघि लाखौं युवाहरु सडकमा उत्रेर १० अर्बको हिसाब मागेका थिए । त्यो हिसाब नेताहरुको खल्तिमा गइसक्यो । धन्यै ‘इनफ इज इनफ’ का अभियन्ताहरुको अकालमै ज्यान गएन हिसाब माग्दा । 

सरकार कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि अझ खर्च बढ्ने बताउँदै आएको छ । तर दुर्भाग्य सरकारले अहिलेसम्म एउटा पनि भेन्टिलेटर थपेको छैन । सरकारले परीक्षण निकै कम मात्रामा गराइरहेको छ । तर भनिरहेको छ संक्रमण नघटाई परीक्षण बढाउँदा धान्न सकिँदैन । अनि संक्रमण घटाउन कसले रोक्यो ? 

स्पष्टै छ नेपालको कानुन भनेको निर्धालाई हो । निर्धालाई कडा कानुन लगाउन सक्नेले एसएमएस (सोसियल डिस्टेन्स, मास्क र सेनिटाइजर) लाई किन पालना गराउन सकेन ? यत्तिमात्रले पनि कोरोना रोकथाममा ठूलो मद्धत हुने थियो । 

नेपालमा लकडाउन लगाउँदा नेपालमा दुई जना संक्रमित थिए । भुटानमा पाँच जना थिए । त्यहाँ निकै कडाइ गरियो । अनुशासनमा राखियो । 

त्यसको नतिजाले भुटानमा अहिले जम्मा १५३ संक्रमित छन् । १०८ जनालाई निको भइसक्यो । सक्रिय संक्रमित ४५ मात्र छन् । कसैको ज्यान गएको छैन । 

नेपालमा अहिले ३१ हजारको हाराहारीमा संक्रमित भएका छन् । १३७ जनाको ज्यान गइसकेको छ । १२ हजार १३२ जना सक्रिय संक्रमित छन् । १८ हजार २१४ लाई मात्र निको भएको छ । 

यहाँ नियम कडा गर्नुपर्ने प्रधानमन्त्री ओली नेकपाको कहिले सचिवालय, कहिले स्थायी समिति बैठक भनी भनी सयौंलाई एकैठाउँमा भेला गर्छन् । 

प्रचण्डदेखि विभिन्न मन्त्री र सभामुखसम्मका सुरक्षाकर्मीहरु संक्रमित भए । सामाजिक दूरी नहुँदा त्यो दिन देखियो । 

सरकारले जनताको अधिकार छिन्दा सडकमा अझै पनि नाराजुलुस छन् । ती नाराजुलुस रोक्न सरकार कहिले हुन्छ इमानदार ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ