arrow

थन्कियो भेण्टिलेटर : बिरामी रेफर

logo
 नानीमैया कटवाल,
प्रकाशित २०७७ भदौ ७ आइतबार
icu-hospital.jpg

सप्तरी ।  राजविराजस्थित आइसोलेशनमा भर्ना भएका दुई जना एकाएक गम्भिर बने । उनीहरुले बान्ता गर्न थाले, ज्वरोमा कुनै कमी नआएर कमजोर र शिथिल भए । अक्सिजन कम भएर छिटो–छिटो श्वास लिन थाले । हिंडडुल गर्न असमर्थ भएपछि बिरामी अत्तालिए । बिरामी अत्तालिएको खबरपछि परिवारका सदस्य र साथी पनि चिन्तित बने । 
    
स्वास्थ्य स्थिति बिग्रिदै गएपछि अस्पताल, स्वास्थ्य कार्यालय, राजनीतिक दल, प्रहरी, प्रशासन, पत्रकार सबैको पहल र समन्वयमा धरानमा रहेको भेण्टिलेटर खाली गराइयो । एम्बुलेन्स चढाएर हतारमा धरानमा भर्ना गरियो । अहिले उनीहरुको अवस्थामा सुधार आएको छ ।
    
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सघन उपचार कक्ष (आइसीयू) र भेण्टिलेटरको व्यवस्था नहुँदा यस्तो अवस्था आइपुगेको हो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले आज पुनः दुई पुरुष संक्रमितको अवस्था गम्भिर बनेको र अक्सिजन लगाएर राखिएको बताए । हालसम्म अवस्था नियन्त्रणमा रहेको जानकारी दिदै अवस्था थप बिग्रिए उनीहरुलाई पनि रेफर गर्नुपर्ने बताएका डाक्टर झाले हाल लक्षण भएका बिरामीको सङ्ख्या बढन थालेकामा चिन्ता गरे ।
    
अस्पताल मातहत १७८ शै्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा छ । भारतको कुनौलीसँग जोडिएको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर २ लौनिया कोरोनाको हटस्पट बन्दै गएपछि सोही ठाउँमा ५० शै्ययाको छुट्टै आइसोलेशन केन्द्र सञ्चालनमा छ । संक्रमितको सङ्ख्या बढदै गएपछि शम्भुनाथ नगरपालिकास्थित कठौनामा पनि थप आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । संस्थागत आइसोलेशनमा मात्र राख्न असम्भव हुँदै गएपछि लक्षण नभएका संक्रमितको चाहना बमोजिम होम आइसोलेशनमा बस्ने व्यवस्थासमेत गरिएको छ । 
    
स्वास्थ्य कार्यालयले संक्रमितको सङ्ख्या ७२६ पुगेको जनाएको छ । जसमध्ये पाँच पुरुषको मृत्यु भइसकेको छ । अहिले पनि सक्रिय संक्रमितको सङ्ख्या २०६ रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । संक्रमितको सङ्ख्या जिल्लाभरी नै फैलिएको र बढ्दो क्रममा रहेको भन्दै जिल्ला सुरक्षा समितिले गत साउन १८ गतेदेखि जारी गरेको निषेधाज्ञालाई जिल्ला स्तरीय सङ्कट व्यवस्थापन केन्द्रले यही भदौ १५ गतेसम्मका लागि अवधि थप गरेको छ । 
    
ठूलो सङ्ख्यामा कोरोनाका बिरामीको उपचार गरिरहेको अस्पताललाई भेण्टिलेटर र आइसियु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य बताउछन् । आपतकालीन अवस्थामा बिरामीलाई सघाउन मेसिनले निकै सहयोग गर्ने चिकित्सकको भनाइ छ । स्वास्थ्य अवस्था बिग्रिए पछि दुई जनालाई धरान पठाएको राजविराजस्थित आइसोलेशन केन्द्रमा थप दुई जना विरामीलाई अक्सिजन लगाउनुपरेको उपचाररत नर्स कामना मिश्रले बताए । उनीहरुमा गम्भीर खालको संकेत देखा परे भेण्टिलेटरसहित सघन उपचार कक्षको आवश्यकता हुने अस्पतालका निमित्त मेसु डाक्टर झाले बताए ।
    
अस्पतालका लागि भेण्टिलेटरको आवश्यक्ता महशुस गरी केन्द्र सरकारले छ महिना अघि नै चार भेण्टिलेटर पठाएको छ । भेण्टिलेटर अस्पतालमै थन्काएर राखिएको छ । “श्वासप्रश्वासमा समस्या आए भेन्टिलेटरले सहयोग गर्छ, जुन हामीले पाएका छौँ”, अस्पतालका निमित्त मेसु डाक्टर झाले भने, “जनशक्ति र भौतिक पूर्वाधारको अभावमा सञ्चालन गर्न सकिएन ।” 

गत साउन १२ गते निरीक्षण अनुगमनका क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत राजविराज आउनुभएका बेला यो समस्याबारे जानकारी गराएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी आचार्यले अस्पतालबाट समेत अवस्था र आवश्यक्ताको ‘स्टिमेट’ गरेर प्रदेश सरकारसमक्ष आग्रह गरिएको जानकारी दिनुभयो । संकट व्यवस्थापन केन्द्रमा यस विषयमा व्यापक छलफल भएको र प्रदेश तथा संघीय सरकारसमक्ष पहल थालिएको उनले बताए । 
    
अस्पतालमा भेण्टिलेटर र आइसीयू सञ्चालनका लागि पहल भइरहेको छ । सबै राजनैतिक दलले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको जानकारी दिँदै डा झाले भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण तत्काल सञ्चालन गर्न निजी अस्पतालले महिना दिनको भाडा रु ३० लाख माग गरेको सुनाए । सरकारले जनशक्ति र बजेट पठाए आकस्मिक कक्षमाथि निर्माणाधिन भवनमा भेण्टिलेटर सञ्चालन गर्न सकिने उनले बताए । 

भेण्टिलेटर प्रयोगमा ल्याउन तालिमप्राप्त चिकित्सक र नर्सको आवश्यकता रहेको उल्लेख गर्दै तालिम लिएकी नर्स किरण गुप्ताले २४ घण्टा सञ्चालनमा रहने भेण्टिलेटरका लागि पर्याप्त दक्ष जनशक्ति नभएको बताए । भेण्टिलेटरले मात्रै थेग्न सक्ने अवस्था आएमा बिरामीलाई धरान, विराटनगरलगायत ठाउँ पठाउनुको विकल्प नरहेको सुनाउँदै डा झाले कोभिड–१९ कै कारण भेण्टिलेटर र आइसियु भरिएको अवस्थामा रहने गरेकाले समस्या भइरहेको सुनाए ।
    
कोरोना संक्रमणबाट मृत्यु हुने सप्तरीका पाँच जनाकै श्वासप्रश्वासमा समस्या आएपछि  उपचारका लागि धरान र काठमार्डौमा भर्ना भएपछि वा सो ठाउँ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । जटिल समस्यामा पुगेका बिरामीलाई भेण्टिलेटर र आइसियु आवश्यक रहे पनि व्यवस्थापन नहुँदा अस्पतालले अन्यत्र रेफर गर्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ