arrow

रोजगारी गुमाएका १४ हजारलाई माइतीको खाना

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
khana3.jpg

राँझा । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएका बाँकेका १४ हजार नागरिकलाई माइती नेपालले खाना खुवाएको छ । 

कोरोना महामारीका कारण रोजगारी गुमाएका परिवार र व्यक्तिलाई लक्षित गरि खाना खुवाउने अभियान सञ्चालन गरिएको माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको जमुनहा, गायत्रीनगर सुकुम्वासी वस्ती, कोहलपुर नगरपालिकाको शम्शेरगञ्ज, अकलघरुवालगायत स्थानमा १४ हजार नागरिकलाई खाना खुवाइएको  छ ।

गत असार १६ गतेबाट शुरु भएको खाना खुवाउने अभियानअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका–१२ का बेलासपुर, भेरी प्राविधिक शिक्षालय चोक र नयाँबस्ती, वडा नं १३ का घसियारनटोल, मसानघाट र बुलबुलिया, वडा नं १९ को आलानगर र मोहनपुर, वडा नं. २० का गायत्रीनगर तथा वडा नं. ९ का खट्कनपुर्वाका गरिब तथा निमुखा परिवारलाई खाना वितरण गरिएको प्रमुख कोइरालाले जानकारी दिए ।

यस्तै, नेपालगञ्ज क्वारेन्टिनमा बस्ने तथा निलसागर वृद्धाश्रममा रहेका असहाय, अशक्त व्यक्तिलाई पनि अभियानमा समेटिएको उनले बताए । कोरोना महामारीका कारण दैनिक ज्यालादारी मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका ब्यक्तिलाई थोरै भए पनि राहत प्रदान गर्न खाना खुवाउने अभियान थालेको उनको भनाइ छ । 

बिद्यमान असहज परिस्थितिमा महिला तथा बालबालिकालाई पौष्टिकयुक्त खाना खुवाएर उनीहरुको दैनिक जीवनलाई थोरै भएपनि सहयोग पु¥याउने अभियानको प्रमुख उद्देश्य रहेको कोइरालाले बताए । “गाउँपालिका र नगरपालिकासँग समन्वय गरेर वडा कार्यालयको प्रत्यक्ष निगरानीमा आवश्यकताका आधारमा खाना खुवाउने कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने, “वडा कार्यालयले उपलब्ध गराउने आधिकारिक तथ्याङ्क र वास्तविक पीडित परिवारलाई खाना खुवाउने गरिएको छ ।” 

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले माइती नेपालले सञ्चालन गरेको खाना खुवाउने अभियान प्रशंसनीय रहेको बताए । काम गरी खाने मजदूरले काम गर्न नपाइरहेको अहिलेको विषम परिस्थितिमा घर घरमै पुगेर तयारी खाना वितरण हुँदा नागरिक खुशी भएको उनले बताए । 

नेपालगञ्ज उपमहानगरपालिका—२० का वडाध्यक्ष कृष्ण कार्कीले माइती नेपालले गायत्रीनगरस्थित सुकुम्वासी टोलमा पाँच दिनसम्म तयारी खाना खुवाएर उदाहरणीय काम गरेको बताए । कोरोना महामारीका कारण रोजगारी गुमाएका गायत्री नगरका करीब तीन सय जनालाई पाँच दिनसम्म वडा कार्यालयसँगको समन्वयमा खाना खुवाउँदा स्थानीयवासी हर्षित भएको उनको भनाइ छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ