कोरोना समुदाय स्तरमा फैलिएर गम्भीर खतरा हुने गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरुको ब्रिफिङ
प्रकाशित २०७७ भदौ ८ सोमबार
696
Shares
काठमाडौं । काठमाडौंं उपत्यकामा निषेधाज्ञा जारी गरेको पाँचौ दिन तीन वटै सुरक्षा निकायका प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई सुरक्षा ब्रिफिङ गर्दै कोभिड १९ समुदायस्तरमा फैलिएर गम्भीर खतरा निम्त्याउन सक्ने जनाएका छन् ।
कोरोना संक्रमण समुदायस्तरमै फैलिएको र स्थितिले गम्भीर रुप लिनसक्ने सुरक्षा प्रमुखहरुले संकेत गरेका हुन् । गृहमन्त्रालयमा आयोजित सुरक्षा ब्रिफिङमा तीन वटै सुरक्षा निकायका प्रमखहरुले सो जानकारी गराएका हुन् ।
बैठकमा गृहमन्त्री थापा, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख चक्रबहादुर बुढा, गृहमन्त्रीका सल्लाहकारद्वय सूर्य सुवेदी र इन्द्रजित राई सहभागी ब्रिफिङमा सुरक्षा अधिकारीहरुले काठमाडौं उपत्यकाभर कोरोनाको संक्रमण दर बढेको र स्थिति भयावह उन्मुख रहेको बताएका थिए ।
उनीहरुले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा स्वास्थ्यकर्मी आफै बढी संक्रमित हुने अवस्था आएकाले सावधानीका उपायहरु अपनाउनु पर्नेमा जोड दिएका थिए ।
काठमाडौंभित्र अझै फैलिन सक्ने र पीसीआर परीक्षणका दायरा नपुगेको तथा फ्रन्टलाइनमा बसेर काम गर्ने सुरक्षा निकायका कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई अझ जोगाउनु पर्ने आवश्यकता रहेको जोड दिएको मन्त्रालय स्रोतले जनाएको छ ।