arrow

भीम अस्पतालको चरम लापरवाही, भर्ना नलिँदा कोरोना संक्रमितको ज्यान गयो

अस्पताल स्रोत भन्छ - लापरवाही होईन 

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ ९ मंगलबार
bhim-hospital1.jpg

रुपन्देही । रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालको चरम लापरवाहीका कारण एक कोरोना भाइरसका संक्रमितको ज्यान गएको छ । 

जिल्लाको गैडहवा गाउँपालिका वडा नं ३ का ५० बर्षिय कल्लु नाउ मुसलवानलाई कोरोना भाईरस संक्रमणको उपचारका लागि सोमबार साँझ ५ बजेतिर भीम अस्पताल पुर्याए पनि अस्पतालले करिब ३ घण्टासम्म भर्ना नलिँदा संक्रमितको ज्यान गएको मृतकका आफन्तले बताएका छन् । 

निर्माणाधिन घरको छतबाट लडेर टाउकोमा चोट लागेका उनको उपचारका लागि न्युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि पुर्याइएका मुसलवानलाई कोरोना परीक्षण गर्दा संक्रमण देखिएपछि कोरोना भाइरसको उपचारका लागि न्युनिभर्सल मेडिकल कलेजले भीम अस्पतालमा रिफर गरेको बुझिएको छ । 

उनले घर बनाउने मिस्त्री काम गर्ने परिवारजनले बताएका छन् । उनलाई कोरोना भएको रिपोर्ट भदौ ५ गते देखिएको थियो ।

न्युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पतालमा कोरोना भाइरस उपचारका लागि रिफर गरिएका उनलाई भीम अस्पतालमा डाक्टर नभएको भन्दै समयमा भर्ना नलिएका कारण भाइको मृत्यु भएको मृतकका दाइ हसन मोहम्मद नाउले बताए । 

उनी भन्छन्, ‘अस्पताल प्रशासनले समयमै भर्ना लिन र उपचार गर्न चासो नदिँदा चरम लापरवाहीका कारण ज्यान गएको हो ।’

भीम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नविन दर्लानको सरुवा गरेर रमाना लिएर गएकै दिन कोरोना संक्रमितको मृत्यु भएको हो । सो क्रममा उक्त अस्पताल मेडिकल सुपरिटेण्डेण्टविहीन रहेको थियो । 

कोरोना भाइरस महामारीको समयमा प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले कार्यरतर मेडिकल सुपरिटेण्डेण्ट डा दर्लानको समयावधि नसकिँदै सरुवा गरेको रहस्य बाहिरिएको छ । जसका कारण डाक्टरले जोखिम मोल्न नसकेको र आलटाल गर्न गर्दा ढिला भएको जनाइएको छ ।

आईसीयुमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई अस्पतालले भर्ना नलिएपछि उनको अबस्था थप चिन्ताजनक बन्दै गएको र सोमबार मध्यराति १२ बजेतिर मृत्यु भएको मृतकका दाइ हसनले गुनासो गरे ।  

तर यता भीम अस्पतालका कोरोना फोकल पर्सन डा सुमित प्रजापतिले हाम्राकुरासंग उक्त कोरोना संक्रमण भएको व्यक्तिको अस्पतालको लापरवाहीका कारण मृत्यु नभएको प्रतिक्रिया दिएका छन् । फोकल पर्सन डा प्रजापतिले उनको लडेर टाउकोमा लागेको गम्भीर चोटले गर्दा मृत्यु भएको दाबी गरे । 

प्रदेश नं ५ प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचारका लागि सो अस्पताललाई तोकिए पनि तर सो अस्पतालमा अझै उपचार प्रभावकारी बन्न नसकेको प्रति यहाँका सरोकारवालाहरुले गुनासो गरेका छन् । 

उनीहरुले प्रदेश सरकारले बेमौसमी समयमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्टको सरुवा गर्नाले सो घटना घट्न पुगेको जिकिर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ