कांग्रेस सभापति देउवाको आग्रह–घरपरिवारमा सीमित रहेर गौरा पर्व मनाऔं
प्रकाशित २०७७ भदौ १० बुधबार
372
Shares
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले एक सन्देशमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्नलायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् ।
विशेष गरी सुदूरपश्चिममा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको सभापति देउवाले बताएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण देशका कैयौं भागमा लकडाउन र निषेधाज्ञा जारी रहेकाले यतिबेला जनजीवन कष्टकर बनेको उल्लेख गर्दे उनले कोरोना महामारीका कारण उत्पन्न यस्तो प्रतिकूल समयमा यसको जोखिमलाई दृष्टिगत गर्दै सुरक्षित रुपमै घर–परिवारमा सिमित रहेर गौरा पर्व मनाउन सबैलाई आग्रह गरेका हुन् ।
यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै सभापति देउवाले शुभकामना व्यक्त गरेका छन् ।