arrow

प्रमको गृह जिल्लामा युरिया मलको हाहाकार, कोरोनाले रोकिएन भिड

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ भदौ ११ बिहिबार
mal-hahakar.JPG

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा कृषि उपजको उत्पादनका निमित्त अत्यावश्यक पर्ने रासायनिक मल युरियाको हाहाकार भएपछि कृषकहरु झापाको शिवसताक्षीमा मल लिनका लागि कृषकहरुको बाक्लो भीड लागेको छ । विगत ६ महिना अघिदेखि बजारमा चरम अभाव भएको युरिया मल लिनका लागि कृषकहरु बिहान ५ बजेदेखिनै शिवसताक्षी नगरपालिका ११ स्थित जोरपोखरी कृषि सहकारी संस्थाको विक्रेता पसल अगाडि मल लिन आएका हुन ।

साल्ट ट्रेडिङ कर्पोरेसन, विर्तामोड मार्फत ५० बोरा युरिया मल उपलब्ध भएपछि नगरका ७, ९, १० र ११ वडाका करीब ३ सय बढी कृषकहरु मल लिन बिक्रेताकोमा उपस्थित भएका थिए । ग्राहकको मागलाई थेग्न नसकेपछी मल लिन आएका कृषकहरुलाई प्रतिव्यक्ति ५ केजीसम्म मात्र मल उपलब्ध गराउन सकिने संस्थाका सञ्चालक भोजराज ढकालले जनाए ।

यता कृषकहरु भने कम्तीमा पनि २० केजीसम्म मल पाउने कुरामा अडिग रहेपछि मल बाँड्नमा असहजता भएको थियो । वडा नं. ९ का वडा सदस्य मन बहादुर लिम्बुले अभावका बेला सरकारको यो नौटङ्कीले कृषकहरुमा निराशा पैदा गरेको बताए । उनले भने,'कृषकहरुलाई मुख्य समयमा चाहिने युरियाका लागि सरकारले गरेको उदासिनताले भोलि के होला ? त्यो सहजै अनुमान लगाउन सकिन्छ ।'

बिहान ५ बजे नै युरिया लिन पुगेका शिवसताक्षी ९ का पदम बास्कोटा भन्छन्,'मेरो डेढ बिगाहा जमीन छ, त्यसमा बाँडिदै गरेको ५ केजी मलले के गर्नु ? सब्जी बारीलाई नै पुग्दैन । स्थानीय सरकारका जनप्रतिनिधिहरुले हामी कृषकलाई पुग्ने गरी मल दिन्छौं भनि आश्वासन देखाएर भोट मागे । यस्तो बेलामा उनीहरुको व्यवहारले पक्कै चित्त दुखाएको छ ।'
 
त्यस्तै, बिहानै मल लिन पुगेका अर्का कृषक जयप्रकाश पौडेलले थोरै मल ल्याएर स्थानीय प्रशासनले झारो टार्ने कार्य गरेकोमा आक्रोश व्यक्त गरेका छन् । उनले ५ किमी टाढाबाट मल लिन आएका कतिपयले रित्तो फर्किनु पर्ने अवस्था देखेपछि हाहाकारका बेला सबैलाई पुग्ने गरी मल उपलब्ध गराउनु पर्ने बताए । उनले भने , 'मल पाउने अवस्था छैन, कृषकहरुको रुने अवस्था सिर्जना भइसक्यो ! कृषिप्रधान देश नामाकरण गरियो, तर कृषकले कहिलेइ भनेको समयमा मल पाउँदैनन । सरकार भन्छ जग्गा बाँझो राख्न पाइदैन, सरकारले समयमै मल दिन सक्छ भने दिइहालोस् नत्र आश्वासनको खेती बन्द गरोस् ।'

साल्ट ट्रेडिङ कर्पोरेसनले मंगलबारदेखि मल वितरण गर्ने समाचार प्रकाशित भएपछि शिवसताक्षी क्षेत्रका अधिकांश कृषकहरुले जोरपोखरी कृषि सहकारी संस्थाका सञ्चालक भोजराज ढकाललाई सम्पर्क गरेका थिए । नभन्दै मंगलबार बेलुका युरिया मल पनि आइपुग्यो । सोही बेला कृषकहरुबीच मल लिनका लागि हानाथापको सिर्जना भएको थियो । तत्काल बुधबार बिहानदेखि मल वितरण गर्ने भनेपछि एकाबिहानैदेखि उक्त स्थानमा कृषकहरुको घुँइचो बढेको हो ।

यसअघि पनि शिवसताक्षी ४ विश्वडुब्बाका कृषकहरुले बेलैमा मल नपाएको भनि बजार क्षेत्रमा मौन जुलुस लगायत ठाँउठाँउमा प्रदर्शन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ