arrow

अहिलेसम्मकै धेरै १२ जनाको मृत्यु, उपत्यकामा ४१५ सहित नेपालभर थप ९२७ मा कोरोना

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
corona-nepal-ministry.JPG

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेको संख्या यो हालसम्मकै बढी हो । मृत्यु हुनेमा आठ पुरुष तथा चार महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार मोरङकी ५६ र ६५ वर्षीया, भक्तपुरकी ६४ वर्षीया तथा मकवानपुरकी ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै शुक्रबार कोरोनाबाट रुपन्देहीका ६० वर्षीय, कास्कीका ५२ वर्षीय, चितवनका ५१ वर्षीय, झापाका ८३ वर्षीय, सिरहाका ५५ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय र उदयपुरका ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।   

पछिल्लो २४ घण्टामा नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ३६ हजार ४५६ पुगेको छ । आठ दिन अघि संक्रमितको सङ्ख्या ३० हजार ४८३ थियो ।   देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार २२९ जनाको पिसीआर परीक्षण गरिएको छ ।  शुक्रबार थपिएका संक्रमितमा ५९३ पुरुष र  ३३४ महिला रहेका छन् । 

हालसम २० हजार २४२ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको गौतमले बताए । पछिल्लो २४ घण्टामा १६९ जना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको दर ५६ प्रतिशत रहेको छ । हालसम्म ६ लाख ५८ हजार ११० जनाको पिसीआर गरिएको छ । 

देशभर हाल १६४ संक्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २२ संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए । हाल देशभर १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् । हाल ६ हजार ४४६ संक्रमित होम आइसोलेसनमा तथा ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा बस्दै आएका छन् ।  

चौबिस घण्टामा कहाँ कहाँ कति भेटिए संक्रमित 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाम, उदयपुर र ओखलढुंगामा एक एका, झापामा  १५, पाँचथरमा २, मोरङमा ४७, संखुवासभामा २, सुनसरीमा ४१ तथा सोलुखुम्बुमा एक जना कोरोना संक्रमित थपिएका छन् । 

यस्तै प्रदेश २ को धुनषामा २०, पर्सामा १, बारामा ४, महोत्तरीमा १३, रौतहटमा २१, सप्तरीमा ७, सर्लाहीमा १३ तथा सिरहामा १२  कोरोना संक्रमित थपिएका छन् । बागमती प्रदेशको काठमाडौंमा ३५०, काभ्रेपलाञ्चोकमा १७, चितवनमा २६, धादिङमा १६, नुवाकोटमा ३, भक्तपुरमा ५४, मकवानपुरमा ५१, रसुवामा १, ललितपुरमा ११, सिन्धुपाल्चोकमा १ तथा सिन्धुलीमा २ जना संक्रमित थपिएका छन् ।  

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ११, लमजुङमा २ र बागलुङमा एक कोरोना सङक्रमित भेटिएको प्रवक्ता गौतमले बताए । यस्तै प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा १, नवलपरासीमा २, बर्दियामा २, बाँकेमा ३६ तथा रुपन्देहीमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको जुम्लामा ६, दैलेखमा ११ र सल्यानमा ३ तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १, कैलालीमा ११  र डोटीमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । 

काठमाडौँ उपत्यकामा थपिए ४१५ 
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ४१५ कोरोना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । थपिएको यो संख्या हालसम्मकै बढी हो । थपिएकामध्ये काठमाडौँका ३५०, ललितपुरका ११ र भक्तपुरका ५४ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । बिहीबार उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

देशभर ६ हजार २०२ आइसोलेसन बेड थप 
सरकारले कोरोना भाइरसको संक्रमण बढेपछि संघीय, प्रदेश तथा स्थानीय तहमा गरी ६ हजार २०२ आइसोलेसन बेड थप गरेको छ । प्रवक्ता गौतमका अनुसार केन्द्रका अस्पतालमा एक हजार, प्रदेशमा एक हजार ९५७ तथा ६४९ स्थानीय तहमा प्रत्येकमा ५ वटाको दरले तीन हजार २४५ बेड थप गरिएको छ । देशका थप तीन अस्पताललाई कोभिड अस्पतालका रुपमा सूचिकृत गरिएको छ । सूचिकृत गरिएका अस्पतालमा काठमाडौँको कान्तिपुर र जनमैत्री तथा पर्साको वीरगन्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल रहेका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ