arrow

तुलसालाई मन्त्री बनाएर बामदेवलाई फकाउने ओलीको प्रयास, दाहाल पनि नेपाललाई फकाउँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १७ बुधबार
oli-gautam-prachanda-nepal.jpg

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र राष्ट्रिय सभा सदस्यमा कसलाई मनोनयन गर्ने भन्ने विषयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनाब दिएको छ। पार्टीकै उपाध्यक्ष वामदेव गौतमले रहर गरेपछि ओलीले बुधबार साँझ वालुवाटारमा गौतमलाई बोलाएर फकाउने कोसिस गरेका छन्। वालुवाटार निकट स्रोतका अनुसार बेलकी साँढे सात बजे गौतम वालुवाटार पसेका थिए। उनी ९ बजे मात्रै वालुवाटारबाट बाहिरिएका थिए। ओलीले तत्काले युवाराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने र गौतमपत्नी तुलसा थापालाई मन्त्री बनाउने आश्वासन दिएका छन्। तर गौतमले यसमा चित्त बझाउन सकेका छैनन।

विहिबार विहान बस्ने सचिवालय बैठक सहज होस भन्नका लागि ओलीले बेलुका गौतमलाई बोलाएर फकाउने प्रयास गरेका थिए। सचिवालय बैठकमा विवाद सुल्झने भन्दा बल्झनेतर्फ उन्मुख भएपछि ओलीले आफूलाई सहज हुनेगरी गौतमसँग परामर्श गरेका हुन्। नेकपाभित्रको आन्तरिक विवाद सुल्झाउने क्रममा बनेको सुझाव कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको सचिवालय बैठकमा प्रतिवेदन भन्दा पनि गौतमलाई राष्ट्रिय सभामा पठाउने पुरानो निर्णय कार्यान्वयनको विषयले प्रवेश पाउने र त्यसमा सबैको समर्थन हुने देखिएपछि ओली आफू अप्ठ्यारो पर्ने भएकाले गौतमसँग छुट्टै छलफलमा बसेका हुन्। गौतमले आफू राष्ट्रिय सभा सदस्य हुने चाहाना गरेपछि आन्तरिक विवाद समाधान भन्दा थप विवादतर्फ मोडिने संकेत देखा परेको छ।

बिहीबार बस्ने भनिएको सचिवालय बैठकमा विवाद समाधान कार्यदलले दिएको सुझावको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। तर पार्टीका उपाध्यक्ष गौतमले राष्ट्रिय सभाको सदस्यमा आफै जान चाहेको र उनको सन्दर्भमा गत फागुनमै गरिएको निर्णय कार्यान्वयनको सवाल उठेपछि त्यही विषयमा केन्द्रीत हुने बताइएको छ। पार्टीभित्र थिति बसाउने हो भने त भएका निर्णयहरु कार्यान्वयन गर्दै जानुपर्ने भन्दै ओलीलाई पुष्पकमल दाहाल प्रचण्डले पनि दबाब दिइरहेका छन्।

बुधबार साँझ नै ओलीले दाहालसँग पनि भेटघाट गरेर सहजीकरण गरिदिन आग्रह गरेको भएपनि दाहालले सचिवालयको बैठकको निर्णय कार्यान्वयन गर्न जोड दिएका थिए। जस्ले गर्दा ओली अप्ठ्यारोमा परेका छन्।

गत फागुन १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो। तर त्यसैदिन वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजान नसकिने बताएर बैठकको निर्णय कार्यान्वयन नहुने संकेत गरेका थिए। त्यसयता नै नेकपाभित्रको विवाद यथावत रहेको छ।

पार्टीभित्र विवादको एउटा जड रहेका डा. युवराज खतिवडालाई पुन अर्थमन्त्रीमा निरन्तर दिने ओलीको मनशायपछि गौतमले तीन दिन अघि ओलीलाई भेटेर फागुन १४को निर्णय कार्यान्वयन गर्न माग गरेका थिए।

सचिवालय बैठक बस्नु अघि बुधबार दिउँसो दाहालले माधव नेपालसँग छलफल गरेका छन् । दाहालसँग असन्तुष्ट रहेका नेपाल र दाहालबीच लामो समयदेखि भेटघाट र कुराकानी भएको थिएन । दाहाल पक्षीय नेता उर्जामन्त्री वर्षमान पुनले केही समय अघि आगामी महाधिवेशनमा दाहाल पार्टी अध्यक्षका लागि एकल उम्मेदवार रहेको बताएपछि नेपालले पनि उम्मेदवारीको वार्मअप गरिहेको थाहा पाएर दाहालले आज विहानै नेपाललाई आफ्नै निवासमा भेट्न बोलाएका थिए। उनीसँगै एक घण्टा जस्तो छलफल गरेका दाहालले आफ्नो र ओलीबीच कुनै पनि गोप्य सहमति नभएको भनेर नेपाललाई मनाउने कोसिस गरेका थिए।

पार्टीको विवाद समाधान गर्ने विषयमा ६ सदस्यीय कार्यदल बनाएदेखि नै माधव नेपाल पक्षका नेताहरुले दाहालको भूमिकालाई लिएर आशंका प्रकट गरेका थिए। सुझाव कार्यदलको प्रतिवेदन आउने वित्तिकै दाहाल समूहका नेताहरुले अबका महाधिवेशनमा दाहाल अध्यक्षको एकल उम्मेदवार भएको बताएपछि नेपाल समूहका नेताहरुले दाहालको भूमिकामा झन आशंका पालेका थिए। दाहाल नेपाल भेटघाट भएपछि वालुवाटारबाट पनि दाहाललाई बोलावट भएको थियो। बुधबार साँझ प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो। बिहीबार बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा दुई अध्यक्षबीच आज छलफल भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकका एजेन्डाबारे छलफल भएको बताइएको छ।

यसअघि भदौ १३ गतेका लागि तय भएको सचिवालय बैठक कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि रोकिएको थियो। सचिवालय सदस्य उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम क्वारेन्टिनमा बसेका कारण बैठक स्थगित गएिको थियो । बिहीबारको बैठकमा नेकपा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनुका साथै अघिल्ला निर्णय र रोकिएको स्थायी कमिटी बैठक सञ्चालनबारे पनि छलफल हुनेछ । त्यस्तै सचिवालय बैठकमा राष्ट्रिय सभामा पठाउने सांसदको बारेमा समेत छलफल हुने बताइएको छ।

अर्थमन्त्री युवराज खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिदैछ। प्रधानमन्त्री ओलीले खतिवडालाई फेरि राष्ट्रिय सभा सदस्य बनाउन चाहेका बेला उपाध्यक्ष वामदेव गौतमले पनि राष्ट्रिय सभामा जाने चाहना राखेर ओलीलाई अप्ठ्यारोमा पारेका छन्। वालुवाटारमा बुधबार साँझ भएको भेटघाटमा राष्ट्रिय सभामा कसलाई मनोनयन गर्ने भन्ने बारेमा छलफल भएको भएपनि ओली दाहालबीच सहमति भने जुटेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ