काठमाडौं । वैशाख १२ को गोरखा भूकम्प पछि पराकम्पन आउने क्रम अझै जारी छ । आज विहान १० बजे सिन्धुपाल्चोकको निम्लुङ नजिकै भोटेकोसी किनारलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्पनको धक्का काठमाडौंमा पनि महसुस भएपछि स्थानीयहरु बाहिर निस्केका थिए । यसअघि, वुधबार दिँउसो मात्रै दार्चुलामा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै मंगलबार साँझ रसुवा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको थियो ।
पहिलेको तुलनामा पराकम्पन आउने क्रम केही कम भएपनि फरक–फरक स्थान र फरक रेक्टर स्केलमा आइरहेकाले नागरिकमा केही त्रास छाएको छ । यद्यपि, भूकम्प मापन केन्द्रले जोखिमपूर्ण संरचनाहरुप्रति सचेत रहन सुझाएको छ ।