निषेधाज्ञा खुलेपछि कसरी काम गर्ने, यसो भन्छन् डा. रवीन्द्र पाण्डे

प्रकाशित मिति : २०७७ भदौ २५ बिहिबार
तस्वीर – फाइल

काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनानुदिन थपिइरहँदा सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाएको छ । 

सरकारले कुनै गहन व्यवस्था नगरिकन एकैपटक निषेधाज्ञा खुकुलो पार्दा भने मत वाझिएको छ । कसैले सरकार जनताको पक्षमा रहेको बताउँछन् भने कसैले थप जनता मार्नका लागि सरकारले यो निर्णय गरेको भनी आरोप पनि लागेको छ । 

जसरी पहिलो पटक लकडाउन खुल्दा सर्वसाधारणले कोरोना अब लाग्दैन भन्ने बुझेर अहिलेको अवस्था आएको छ त्यसरी नै फेरि निषेधाज्ञा खुकुलो बनाउँदा स्थिति भयावह बन्ने चिन्ता यथावत् छ । 

यस्तो अवस्थामा जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर नभई आम जनतालाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक भार परेको कारण भएको भनी बुझ्न सुझाएका छन् । 

उनले सरकारले बल हाम्रो हातमा दिएको भन्दै यसको सदूपयोग गर्न पनि आग्रह गरेका छन् । 

डा पाण्डेले ‘अब हामी सबैले निम्न कार्यहरु अबलम्बन गरौँ’ भन्दै विभिन्न टिप्सहरु दिएका छन् । 

ती यसप्रकार छन्–
–बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने । सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने । काम गर्न बाहिर जाने व्यक्तिसंग दूरी कायम गर्ने । कुरा गर्दा मास्क लगाउने ।

–मर्निंग वाक वा इभिनिंग वाक घरमै गर्ने । 
–खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने । घरबाहिर जति छोटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ ।
–घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सम्भव भएसम्म २ मिटरको दूरी कायम गर्ने ।  भीडभाडमा नजाने । भीडभाड नगर्ने । 
–सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा लगाउने । स्यानिटाइजरले हात सफा गरिरहने । बिशेष सतर्क हुने । 
–हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरि काउन्टरको ब्यबस्थापन गर्ने । मास्क नलगाएका ग्राहकलाई मास्क दिने ।  सबैको लागि ठूलो स्यानिटाइजर राख्ने । झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने । 
–सकभर हरेक पसलमा परल मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने ।
–ग्राहक ब्यबस्थापन कुशल ढंगले गर्ने । भीडभाड नगराउने ।
–पसल र हरेक सामान संक्रमणरहित बनाउने । 
–चियापसल, कफीसप तथा पसलमा साथीहरुसंगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने ।
–कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन । हरेक व्यक्तिसंग सुरक्षित ब्यबहार गर्ने ।
–सामान किन्दा धेरै छान्ने काम नगर्ने । किनमेलको लिस्ट घरमै बनाएर जाने । पसलहरुमा एकदम छोटो समय बिताउने । जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ ।
–सकभर तरकारी बजारबाट तरकारी नकिन्ने । घर नजिकको पसलबाट किन्ने । बसेर छान्ने, छाम्ने काम नगर्ने । 
–डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन । तसर्थ आफूले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने । लामो समय नबिताउने ।
–भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पूण्य कमाउने । कमाउने कुरा पैसासंग मात्र जोडिएको हुँदैन । पूण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन । 
–बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने  । क्यासलेस लेनदेनलाई प्रेरित गर्ने । टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने, फाइललाई डिजिटल बनाउने । 
–रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने । बिरामी हुँदा आफूले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफूलाई छिटो सर्ने खतरा पनि हुन्छ । 
–सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने ।
–आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ । त्यति धेरै चल्छ । यो सुत्र सबैले अपनाउने । 
–कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने । 
–ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो । 
–हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ । संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन । हामी पनि सुरक्षित हुन्छौं । 

नयाँ