arrow

पत्रकार शाहको हत्यामा संलग्न अन्य व्यक्तिलाई कारवाहीको माग

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
FNJ-logo.jpg.jpeg

काठमाडौं । नेपाल पत्रकार महासंघले बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न भई फरार रहेका लालबहादुर चौधरीसहितका व्यक्तिको खोजी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन र कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

सोही घटनामा संलग्न रही फरार रहेका अभियुक्त हरेराम पटेल १३ वर्षपछि प्रहरीले पक्राउ गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाएकोे घटनालाई भने महासंघले सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ । “पत्रकार हत्या र बेपत्ता बनाउने कार्यमा संलग्न दोषीमाथि यथाशीघ्र कानूनी कारवाही गरी पीडित परिवार र नेपाली सञ्चार क्षेत्रलाई न्यायको अनुभूति दिलाउन सरकारसँग महासंघ जोडदार माग गर्दछ”, महासंघद्धारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ । 

विसं २०६४ असोज १८ गते बाराको डोढियापिपरा बजारबाट अपहरणमा परेका पत्रकार साहको हत्या गरी ३५ दिनपछि कार्तिक १८ गते बाराको डुमरवान–७ स्थित जङ्गलमा गाडिएको अवस्थामा शव फेला परेको थियो । १३ वर्षपछि हत्याका आरोपी पक्राउ पर्नुले ढिलै भए पनि कानूनी न्याय प्राप्त हुने र दण्डहिनताको अवस्था क्रमशः अन्त्य हुने विश्वास महासंघको छ । महासंघले अभियुक्त पटेललाई कानूनले तोकेबमोजिमको पूरा सजाय दिनुपर्ने मागसमेत गरेको छ । 

सशस्त्र द्वन्द्वयता तत्कालीन विद्रोही र राज्य पक्षबाट ३६ पत्रकारको हत्या भएको र चार पत्रकार बेपत्ता भएको महासंघको भनाइ छ । विज्ञप्तीमा भनिएको छ, “पत्रकारको हत्यामा संलग्नलाई अहिले पनि कानूनअनुसार सजाय हुन नसक्दा पीडित परिवार र नेपाली सञ्चार क्षेत्रले न्यायको अनुभूति गर्न सकेको छैन, पत्रकार हत्यामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन, बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्न र परिवारलाई न्याय दिलाउने कार्यमा महासंघ निरन्तर दबाब अभियानमा छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ