arrow

सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति क्षतविक्षत पारेको कांग्रेसको आरोप

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा वीपी कोइरालाको योगदानको चर्चा

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
bimalendra_nidhi_final.jpg

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति क्षतविक्षत पारेको बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र वीपी कोइरालाको योगदान’ विषयको अन्तर सम्वाद कार्यक्रममा उपसभापति निधिले भने, ‘सरकारका कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति क्षतविक्षत हुनु चिन्ताको विषय हो। यस्तो गम्भीर अवस्थालाई मनन् गरेर कांग्रेस र सचेत नागरिकले उचित दिशा अपनाउनु पर्ने आवश्यकता छ । सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सही रूपमा अबलम्बन् गर्न नसक्दा छिमेकी मुलुक भारतसँगको सम्बन्ध अत्यन्तै जटिल मोडमा रहेको छ।‘

निधिले भने, ‘अहिलेको सरकारले राष्ट्रिय हितलाई पनि हेरेको छैन। समानताका कुरालाई पनि हेरेको छैन। लोकतन्त्रका कुरालाई त झन विल्कुलै हेरेको छैन। धार्मिक, सांस्कृतिक, सामाजिक, मूल्य–मान्यतालाई त झनै हेरेकै छैन। यसले सम्बन्ध बिगार्न सक्छ। भारतसँगको सम्बन्ध अत्यन्त जटिल मोडमा छ। नेपालले उत्तर र दक्षिणका दुबै मुलुकसँग समान विदेश नीति अपनाउनु पर्ने भएपनि कम्युनिष्ट नेतृत्वको सरकार चीनसँग नजिकिएको र भारतसँग टाढिदै गएको छ। चीनको सम्मुन्तिबाट हामीले आर्थिक लाभ लिनुपर्दछ । चीनसँग मैत्री सम्बन्ध राख्नुपर्दछ, त्यसमा दुई मत छैन। चीन र भारतसँगको सम्बन्धलाई हामीले सुमधुर रूपले सन्तुलित राख्न पनि बीपीका अडानहरू काम लाग्दछन्।’

बीपी कोइरालाले अन्तर्राष्ट्रिय लोकतान्त्रिक र समाजवादी आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको स्मरण गर्दै निधिले भने, ‘बीपीको उक्त कदम नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विदेश नीतिको रूपमा रहेको छ। बीपी कोइरालाले अन्तर्राष्ट्रिय लोकतान्त्रिक आन्दोलन र समाजवादी आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्नु भएको थियो। त्यो पनि हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिको खास तत्व र आधार हो, चाहे सरकारमा रहँदा होस् वा सरकारमा नरहँदा। सरकारमा रहँदा एक किसिमको बन्ने, नरहँदा अर्को किसिमको हुँदैन, सरकारमा रहँदा मानवअधिकार र लोकतन्त्रको समर्थन नगर्ने भन्ने होइन । बर्माको प्रजातान्त्रिक आन्दोलन र बंगलादेशको स्वतन्त्रता आन्दोलनलाई बीपीले साथ दिनुभएको थियो।‘

मानवअधिकार र लोकतन्त्रका लागि हुने आन्दोलनलाई कांग्रेसले सधैं साथ, सहयोग र ऐक्यबद्धता जनाउनुपर्ने मान्यता बीपीले सिकाएर जानुभएको निधिको भनाई थियो। ‘मानवअधिकार र लोकतन्त्रका लागि संसारमा जहाँ भएपनि ऐक्यबद्धता जनाउनु पर्छ भन्ने मान्यता बीपीले सिकाएर जानुभएको छ बताउँदै नेपालमा प्रजातन्त्र स्थापनाका लागि बीपीले भारत र बर्माबाट सहयोग लिएको पनि स्मरण गर्नुभयो। नेपालमा राणा शासनविरुद्धको सशस्त्र क्रान्ति पनि भारतका लोकतान्त्रिक समाजवादी नेताहरूको सहयोग र बर्माको तत्कालीन समाजवादी सरकारसँग हतियार प्राप्त गरेकै हो। हतियार लिनु ठीक थियो/थिएन पछि छलफलको विषय होला। तर, प्रजातन्त्रको लागि हाम्रो सम्बन्ध थियो,’ निधिले भने।

कार्यक्रममा पूर्व राजदूत डा. दिनेश भट्टराईले बीपी कोइरालाको सरकारले लिएको परराष्ट्र नीति, भूराजनीतिक अवस्था, ०४६ सालपछिका सरकारले अबलम्बन गरेको नीति र अहिलेको सरकारले अभ्यास गरिरहेको परराष्ट्र सम्बन्धमाथि केस्रा–केस्रा विवेचना गरेका थिए।

प्रतिष्ठानका नीति निर्देशक डा. जगदीशचन्द्र पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले पृथ्वीनारायण शाहदेखि वर्तमानसम्म नेपालको परराष्ट्र नीतिको सन्दर्भका साथ विषयमाथि प्रकाश पारेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु— महेश आचार्य, संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र रामकृष्ण यादव सहित प्रा. उद्धव प्याकुरेल, पूर्व सांसद रामचन्द्र पोख्रेल, नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल, चिरञ्जीवि भण्डारी, राष्ट्रिय सभाका सांसद अनिता देवकोटा, प्रदेश सभा सांसदहरु—विजया के.सी., मेखलाल श्रेष्ठ र बिजुला बर्मा सहित नेपाली जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बुद्धिप्रकाश ओली, धिरेन्द्र पन्त, शिवप्रसाद तिवारीले समेत मन्तव्य राखेका थिए।

प्रतिष्ठानका विदेश सम्बन्ध संयोजक गेजा शर्मा वाग्ले, सदस्य नानुमैयाँ बाँस्तोला र इ. दीपेश विष्टले कार्यक्रमको सहजीकरण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ