भारत सरकारले नेपाललाई उपलव्ध गरायो २ हजार भाइल रेमडेसिभिर

परराष्ट्रमन्त्री ज्ञवालीलाई राजदुत क्वात्राले गरे औषधी हस्तान्तरण

हाम्राकुरा संवाददाता, प्रकाशित मिति : २०७७ भदौ ३० मंगलबार

काठमाडौं। भारतले नेपाल सरकारलाई कोभिड–१९ विरुद्घ लड्न २ हजार भाइल रेमडेसिभिर सहयोगस्वरुप उपलब्ध गराएको छ । 

भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलवार दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गरेका हुन्।

कोभिड १९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको भारतीय दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो । चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्याउँछ ।

भारतले यसअघि पनि नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी २१ टन उपलव्ध गराएको थियो ।

यसैगरि भारतले जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री नेपाललाई सहयोग स्वरुप प्रदान गरेको थियो ।

निकटतम मित्र तथा छिमेकीको हैसियतले कोरोना महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको भारतीय दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

नयाँ