arrow

उपत्यकामा ६७४ सहित एघार सय चउन्नमा संक्रमण, १६ को मृत्यु

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
corona-nepal-ministry.JPG

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण सोमबार एक हजार १ सय ५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा महिला ४१८ र पुरुष ७३६ जना रहेको जानकारी दिए ।

 २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।  काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. गौतमले बताए ।

सोमबार नौ हजार ५३३ जनाको पिसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म ६५ हजार २७६ जनामा संक्रमण देखिएको छ । 

एक हजार पाँच संक्रमणमुक्त
यस्तै विगत २४ घण्टामा एक हजार पाँच जना संक्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म ४७ हजार २३८ जना संक्रमित निको भई घर फर्किसकेका छन् । यसरी संक्रमणमुक्त भई घर फर्किेने कुल संक्रमितको ७२.४ प्रतिशत हो ।  

यस्तै सक्रिय संक्रमित १७ हजार ६११, होमआइसोलेसनमा रहेका आठ हजार ६९०, संस्थागत आइसोलेसनमा आठ हजार ९२१ र क्वारन्टिनमा सात हजार ४०३ जना रहेका छन्। 

१९६ आइसियु र ३१ भेन्टिलेटरमा
यसैगरी सघन उपचार कक्ष (आइसियु)मा १९६ र भेन्टिलेटरमा ३१ जनाले उपचार गराइरहनुभएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । आइसियुमा प्रदेश नं. १ मा १०, प्रदेश नं. २ मा १६, वाग्मती प्रदेशमा १२८, गण्डकी प्रदेशमा पाँच, प्रदेश नं. ५ मा २२ र कर्णाली प्रदेशमा १५ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नं १ मा एक, वाग्मती प्रदेशमा २८ र प्रदेश नं. ५ मा दुई  जना रहेका छन् । 

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पाँच सय भन्दा बढी संक्रमण भएका जिल्ला आठ रहेका छन् । ती जिल्लामा मोरङ, सिराहा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त जिल्ला हुन् । 

कोभिड –१९को संक्रमणबाट सोमबार एकै दिन ११ जिल्लाका १६ जनाको निधन भएको छ । सोमबार निधन हुनेमा काठमाडौ जिल्लाका ५८ र ७३ वर्षीय पुरुष, भक्तपुरका ८४ र ६२ वर्षीय पुरुष तथा ललितपुरका ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष छन् ।  यस्तै झापाका ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, मकवानपुरका १७ वर्षीया  महिला र ६८ वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष, दोलखाकी ५२ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीय पुरुष तथा  बाँकेका ५० र ५९ वर्षीय पुरुष छन् ।  यस्तै विगत २४ घण्टामा एक हजार पाँच जना संक्रमणमुक्त भई घर फर्किएका छन् । 

यससँगै नेपालमा कोरोनाबाट अहिलेसम्म निधन हुनेको सङ्ख्या ४२७ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ