arrow

चीनले सीमा मिचेको छैन भन्न सरकारलाई हतारो, युक्तिसंगत नभएको कांग्रेसको भनाई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ८ बिहिबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

काठमाडौं। हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति नेपाली कांग्रेसले त्यसलाई युक्तिसंगत नभएको भन्दै बिरोध जनाएको हो ।

सरकारको जिल्लास्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नभएको कांग्रेसले विज्ञप्ती जारी गरेर बताएको छ।

अध्ययन टोलीले ११ नम्बर सिमा स्तम्भ बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्ष पछि सीमा मिचिएको हो वा होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकता बारे वस्तुगत अध्ययनकै क्रममा रहेको जनाउँदै सीमा सम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने पनि कांग्रेसको विज्ञप्तीमा उल्लेख छ । 

बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किए पश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रिया मार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत समेत गराइएको छ। 

स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको कांग्रेसको ठहर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ