arrow

मन्त्रिपरिषद पुनर्गठन गर्न ओली प्रचण्ड सहमत, आकस्मिक मन्त्रिपरिषद बैठक बालुवाटारमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
oli-prachanda7.jpg

काठमाडौ । प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूबीच तीन घन्टा लामो भेटघाटको क्रममा मन्त्रिपरिषद पुनर्गठनको बारेमा छलफल भएको हो ।

‘दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनमै केन्द्रित रहेर पहिलोपटक लामो कुराकानी भएको हो, दुवै अध्यक्ष मन्त्रिपरिषद पुर्नगठनको विषयमा सहमत भएपनि केही नामबारे आज छलफल भएको छ ,’ स्रोतले भन्यो ।

६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, दश दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्ने गरी गृहकार्य गर्नेगरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो । त्यसै अनुसार आज दुई अध्यक्षबीच कुराकानी भएको स्रोतको भनाई छ ।

शुक्रबारको कार्यसूचीमा रहेको मन्त्रीपरिषदको बैठक आजै साँझ बसिरहेको छ । ‘खासै कार्यसूची थिएन प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद बैठक बोलाउनु भयो’, एक मन्त्रीले भने । 

४ असोजमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मूलतः तीन विकल्पमा केन्द्रीत रहेर छलफल भएको थियो ।

प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई राजीनामा गराएर आवश्यक योग्य व्यक्तिलाई पुन समेट्ने, दुई वर्ष पूरा गरेका सबै मन्त्रीहरूलाई बिदाइ गर्ने र कार्यसम्पादन मूल्यांकनका आधारमा पुनर्गठन गर्ने विकल्पमा छलफल केन्द्रित भए पनि बैठकले त्यसबारे आवश्यकता अनुसार नेताहरूसँग थप छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको थियो ।

त्यस्तै, उपाध्यक्ष वामदेव गौतमलाई सर्वाेच्च अदालतले थप संवैधानिक जिम्मेवारी नदिई सांसद मनोनयन यथावत् राख्न दिएको आदेशका विषयमा समेत उनीहरूबीच कुराकानी भएको स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ