arrow

गृहमन्त्रीसहितको टोलीको रातीको बाँस कालापानी क्षेत्रमै, पत्रकार महासंघको आपत्ति

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
griha-mantri.jpg

दार्चुला । ब्याँस गाउँपालिका-१ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्मको शिलान्यास गरिएको छ । शुक्रवार दिउँसो गृहमन्त्री राम बहादुर थापाले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटरको शिलान्यास गरेका हुन् । 

सशस्त्र प्रहरीको भवन शिलान्यास गर्न गृहमन्त्री थापा शुक्रवार दिउँसो १२ बजे हेलीकप्टर मार्फत छाङ्गरु पुगेका थिए । गृहमन्त्री थापासँगै सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, सांसद गणेश सिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआईजी रामशरण पौडेललगायत रहेका छन् ।

भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिक सरकारले सशस्त्र प्रहरीको गुल्म स्थापना गरेको छ । गत वैशाख ३१ मा सशस्त्र प्रहरीकै बीओपी स्थापना भएपछि पछिल्लो समय नेपालले आफ्नो सीमा क्षेत्रमा सुरक्षा उपस्थिति देखाउन थालेको छ ।

छाङ्गरुमा बन्ने गुल्म भवनको १० करोडको ठेक्का सम्झौता भइसकेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद बैठकले सदरमुकाम खलंगामा गण स्थापना गरेर खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्याँस गाउँपालिका–१ छाङ्गरुको गागामा सार्ने निर्णय गरेको थियो । अतिक्रमित क्षेत्र कालापानीभन्दा झण्डै १२ किलोमिटर दक्षिणमा पर्दछ ।

गुल्म भवनको शिलान्यासका लागि कालापानी क्षेत्र छाङ्गरु पुगेका गृहमन्त्री थापासहितको टोली राती त्यही बस्ने भएको छ । शुक्रवार दिउँसो सशस्त्र प्रहरीको गुल्म भवन शिलान्यास गरिएपछि थापासहितको टोली छाङ्गरुमै बस्ने कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेले जानकारी दिए । कालापानी क्षेत्रको अनुगमन गरेर शनिवार मात्रै टोली फिर्ता हुने प्रजिअ पोखरेलले बताए । 

पत्रकार महासंघको आपत्ति
गृहमन्त्रीको भ्रमण कार्यतालिकाबारे पत्रकारलाई जानकारी नगराइएको तथा सूचना लुकाइएकोबारे पत्रकार महासंघले आपत्ति जनाएको छ । नागरिक चाँसो र सरोकारको विषयलाई जोड्ने महत्वपुर्ण जिम्मेवारी मिडिया क्षेत्रको हुदाहुदै मिडिया क्षेत्रलाई उपेक्षा गरिएकोमा आपत्ति जनाइएको हो । 

नागरिककै चाँसो र सरोकारको विषयलाई जोड्न जिम्मेवारी बोकेको मिडियालाई जिल्लास्थित स्थानीय प्रशासन र सशस्त्र प्रहरी गणका प्रमुखबाट गरिएको व्यवहार खेदजनक रहेको नेपाल पत्रकार महासंघ दार्चुला शाखाले  जनाएको छ । 

‘गृहमन्त्री जस्तो उच्चस्तरको भ्रमण हुँदा प्रमुख जिल्ला अधिकारी र गणपति नै जानकारीविहीन हुने अवस्था हो भने यो भन्दा गैरजिम्मेवार र दयनीय अवस्था के हुन् सक्छ ?’, विज्ञप्तिमा भनिएको छ, ‘नियतवश सञ्चारकर्मीलाई जानकारी उपलब्ध नगराइएको हो भने  यी गलत र खेदजनक प्रवृत्ति हुन्,’ शाखा अध्यक्ष शंकर सिंह धामीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ । पछिल्लो समय जिल्लामा प्रमुख फेरबदल सँगै सूचना नदिने -लुकाइने प्रवृति देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ