arrow

नर्सिङ परिषदमा विन्दा घिमिरेको मनपरी, आयुर्वेद पढेकोलाई दिइन् नर्सिङको सर्टिफिकेट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
bidhya-ghimire-registrar-nu.jpg

काठमाडौं । नेपाल नर्सिङ परिषदको रजिष्ट्रार विन्दा घिमिरेले परिषदमा कानुन विपरित कार्य गरेको पाइएको छ। परिषदको रजिष्ट्रारमा नियुक्त भएकी घिमिरे कानुन विपरितका कार्यमा संलग्न हुँदा उनी आफू जति विवादमा तानिएकी छिन् त्योभन्दा बढी उनका पति तथा सरकारका पर्यटन तथा संस्कृती मन्त्री योगेश भट्टराई पनि विवादमा तानिएका छन् ।

चिकित्सा शिक्षाका नर्सिङ कार्यक्रममा विकृति मौलाइरहेका बेला २०७५ सालमा परिषदमा नियुक्त भएकी घिमिरेले नर्सिङ कार्यक्रम सुधारतर्फ लाग्नुको सट्टा नर्सिङ नै नपढेकालाई नर्सिङको मान्यता दिएको पाइएपछि उनी नर्सिङ कार्यक्रम सुधारमा लागेकी छिन् की ध्वस्त पार्नेमा लागेकी हुन् गम्भीर प्रश्न खडा भएको छ । उनले नर्सिङ शिक्षाको नियामक निकाय परिषदको रजिष्ट्रार जस्तो गरिमामय पदमा बसेर पदको दुरुपयोग गर्दै आर्युवेद पढेकालाई अनमी पढेको भन्दै नर्सिङको मान्यता दिएको हाम्राकुराले फेला पारेको छ।

घिमिरेले आयुर्वेद अध्ययन गरेकी डडेल्धुरा देवलदिव्यपुरकी माया पन्तलाई अनमी पढेको भन्दै नर्सिङको लाइसेन्स दिएकी हुन् । परिषदमा नियुक्त भएपछि ३ मार्च २०१९ मा पन्तलाई नर्सिङ परिषदबाट लाइसेन्स दिएकी हुन् । जबकी पन्तले नर्सिङ परिषदबाट लाइसेन्स लिनको लागि सिटिइभीटी अन्तर्गतको डडेल्धुरा प्यारामेडिकल क्याम्पसबाट एक्जुलरी आयुर्वेदा हेल्थ वर्कर (एएएचडब्ल्यु) पढेको प्रमाणपत्र परिषदमा पेश गरेकी छिन् ।

घिमिरेले एएएचडब्ल्युकै प्रमाणपत्रका आधारमा कसरी र किन काउन्सिलबाट लाइसेन्स उपलब्ध गराइन अहिले धेरैले आशंका गरेका छन् । डडेल्धुरा प्यारामेडिकल क्याम्पस सिटीइभीटीबाट मान्यता प्राप्त भएपनि पन्तले अनमी नपढेर आयुर्वेदा पढेको उनले लाइसेन्सका लागि परिषदमा पेश गरेका प्रमाणपत्रबाट स्पष्ट हुन्छ ।

काउन्सिलबाट लाइसेन्स लिनका लागि सिटीइभीटी अन्तर्गतकै भएपनि कम्तीमा एएनएम उत्तिर्ण भएको हुनुपर्ने व्यवस्था भएपनि विन्दा घिमिरेले विभिन्न प्रभावमा परि सबै कानुनी मान्यता कुल्चेकी छन् । 

कानुनी व्यवस्था कुल्चेर घिमिरले पन्तलाई २०१९ जनवरीमै परिषदबाट अस्थायी लाइसेन्स दिएकी थिइन् । त्यसको ३ महिना नबित्दै मार्च ३ मा स्थायी लाइसेन्स दिएको प्रमाण हाम्राकुराले फेला पारेको छ ।

नेपाल नर्सिङ परिषद ऐन २०५२ अनुसार नर्सिङ व्यवसाय गर्न चाहने व्यक्तिले तोकिएबमोजिमको न्युनतम योग्यता प्राप्त गरेका नर्सिङ व्यवसायीले दर्ता किताबमा नाम दर्ता गराउन अर्थात लाइसेन्स लिनका लागि परिषदमा दरखास्त दिनुपर्ने उल्लेख गरिएको छ । तोकिएको न्युनतम योग्यताको अर्थ कम्तीमा अनमी पढेको भन्ने हो । परिषदमा दिइएका दरखास्त उपर रजिष्ट्रारले आवश्यक जाँचबुझ गर्नुपर्ने नर्सिङ परिषद ऐन २०५२मा उल्लेख गरिएको छ । तर, विन्दा घिमिरेले शक्तिको आड तथा आर्थिक प्रलोभनमा परी कुनै जाँचबुझ नै नगरी दर्ता किताबमा नाम दर्ता गरी लाइसेन्स दिएको आरोप लागेको छ।

नर्सिङ लगायतका समग्र चिकित्सा शिक्षा सुधार गर्नुपर्ने माग आम सर्वसाधारणले उठाइरहेका बेला घिमिरेका जस्ता व्यक्तिले झन विगार्ने चिन्ता सरोकारवालाहरुको छ । नर्सिङ लगायतका चिकित्सा शिक्षा आफैंमा धरासयी रहेको बेला योग्यता नै नपुगेको व्यक्तिलाई मान्यता दिदा झन् ध्वस्त हुने सरोकारवालाहरुको चिन्ता हो। अयोग्य व्यक्तिलाई लाइसेन्स दिने घिमिरेलाई परिषदको रजिष्ट्रार पदबाट बर्खास्त गरी इमान्दार व्यक्तिलाई परिषदमा नियुक्त गर्नुपर्ने समेत जानकारहरुले औंल्याएका छन् ।

पन्त भन्छिन्– ‘मैले प्रतिस्पर्धामा सहभागि हुन नपाउने भए’
आयुर्वेदा पढेर आयुर्वेदकै सर्टिफिकेट लिनलाई कागजात पेश गरेकी पन्तले नर्सिङको प्रमाण पत्र पाएपछि आफु अचम्म परेकी बताएकी छिन् । उनले आफुले नरदेवी आयुर्वेदबाट आयुर्वेदको काउन्सिलिङ पाउनु पर्नेमा नर्सिङको पाएपछि आफु अचम्म परेकी बताइन् । ‘आयुर्वेदको लागि कागजात पेश गरेकी नर्सिङको खोइ कसरी आयो म त अचम्म पर्या छु’ उनले भनिन्, ‘यही १५ गतेसम्म एउटा प्रतिस्पर्धामा सहभागि हुनका लागि फर्म भर्ने म्याद छ । मैले प्रतिस्पर्धामा सहभागि हुन पाउछुँ कि पाउँदिन्नँ तनावमा छु ।’

उनले सुदूरपश्चिम सरकारले खुला गरेको विज्ञापन अनुसार आगामी १५ असोजसम्म फर्म भर्नुपर्ने गरी आयुर्वेदको परिक्षामा सहभागि हुन खोजिरहेकी छिन् । उनले सकेसम्म चाँडो आयुर्वेदको काउन्सिलिङ गर्नुपर्ने दवावमा भएकाले एक जना आफन्तलाई नर्सिङ काउन्सिलमा पठाएकी छिन् । तर, बोर्डको बैठक बस्नुपर्ने भन्दै आयुर्वेदको काउन्सिलिङ गर्न नमानेको ती आफन्तले बताएको पन्तले जानकारी दिइन् ।

यस प्रकरणमा बुझ्न काउन्सिलकी रजिष्ट्रार घिमिरेसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ