arrow

मनसुन अझै एक साता, पहाडी भूभागमा आंशिक बदली

logo
प्रकाशित २०७७ असोज १४ बुधबार
mansoon.JPG

काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । “पश्चिमी भूभागबाट बाहिरिन शुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ”, उनले भने । उनका अनुसार मनसुन पश्चिमी भूभागबाट शुरु भई पूर्वी भूभागबाट अन्त्य हुने गर्छ । 

गत वर्ष पनि मनसुन अक्टोबरको पहिलो हप्ता बाहिरिएको थियो । मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ भए पनि विगत दुई–तीन वर्षदेखि मनसुन अक्टोबरसम्म पुग्ने गरेको बताइएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । 

राति प्रदेश नं १, वाग्मती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नं ५ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम ३० दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ