arrow

सगरमाथाको उचाई मापनको रिपोर्ट किन गोप्य ?

सरकार किन गोप्य राखिरहेछ रिपोर्ट ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १७ शनिबार
mount-everest-home.jpg.jpeg

काठमाडौं । नापी विभागले सगरमाथाको उचाइ टुंगो लगाएको ३ महिना पूरा भएको छ । भदौको पहिलो साता विभागले भूमि व्यवस्था मन्त्रालयलाई प्रतिबेदन पनि बुझाएको छ । तर भूमि व्यवस्था मन्त्रालयले प्रतिबेदन अति गोप्य रुपमा नै राखेको छ । यसबारेमा न भूमि व्यवस्थाका कर्मचारी बताउँछन, न विभागका कर्मचारीहरु केही भन्छन् । 

सगरमाथाको उचाइबारेमा विभागका कर्मचारीहरु एक शब्द पनि बोल्दैनन् । सगरमाथाको चुचुरोमा जिपिएस मेशीन राख्न विभागका दुई कर्मचारी खिमलाल गौतम र रविन कार्की मे २३, २०१९मा चुचुरोमा पुगेका थिए । उनीहरुले चुचुरोमा १ घण्टा १६ मिनेटसम्म मेशीन राखेका थिए । 

२०७५ चैत २८गते  प्रधानमन्त्री केपी ओलीले सगरमाथाको उचाइ मापनमा जाने ४ जनाको टोलीलाई प्रधानमन्त्री निवासबाटै विदाइ गरेका थिए । ४ जना टोलीमध्ये गौतम र कार्की चुचुरोमा पुगे भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म बसे । विभागको टोली काठमाडौ फर्के पछि टोलीले करिब ६ महिनासम्म डाटा प्रोसेङिमै समय खर्च गर्‍यो । गत असारमा विभागले सगरमाथाको उचाइ टुंगो लगायो । यसको नेतृत्वमा विभागका कर्मचारी शुसिल डंगोलले गरेका थिए । 

अहिले विश्वव्यापी रुपमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर स्विकारिएको छ । सन् १९५४ मा जिएल गुलाटी कम्पनीले उचाई मापन गरेको थियो । यसलाई अन्तराष्ट्रिय जगतले मान्यता दिएको छ ।नेपालले गरेको मापनमा यो मान्यताभन्दा कम उचाइ देखियो  या बढी देखियो, यसबारेमा विभागका कर्मचारीहरु बोल्न चाहन्नन् ।

नेपालले पहिलो पटक आफ्नै प्रविधि र जनशक्ति प्रयोग गरेर सगरमाथाको मापन गरेको हो । सगरमाथाको मापन गर्ने निर्णय भने २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको थियो । त्यसकोलागि देउवा सरकारले २५ करोड रुपैयाँ वजेट पनि छुट्टाएको थियो । उक्त बजेटबाट नापी विभागले एक अन्तराष्ट्रिय कार्यक्रम गर्‍यो । त्यसबेला विभागको नेतृत्व गणेश भट्टले गरेका थिए । सन् २०१७ डिसेम्वरमा गरिएको उक्त अन्तराष्ट्रिय गोष्ठिमा विज्ञहरूसँग सल्लाह सुझाव मागिएको थियो । गोष्ठिमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्याण्ड, बेलायत लगायतका देशका विज्ञ तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

विभागले अर्को यस्तै अन्तराष्ट्रिय कार्यक्रम गरी सगरमाथाको उचाइ मापन घोषणा राष्ट्रपतिबाट गराउने कार्यक्रम तय गरेको थियो तर कोभिड १९को महामारीको कारण अन्तराष्ट्रिय कार्यक्रम गर्न नसकिएको विभागका उच्च कर्मचारीहरु जनाउछन् ।

विभागका अनुसार यसपटक नेपालले परम्परागत र अत्याधुनिक दुवै प्रविधि प्रयोग गरेर मापन गरेको छ । मापनमा जिएनएसएस (ग्लोबल न्याभिगेशन स्याटलाइट सिस्टम) र जिपिआर प्रविधि प्रयोग गरिएका छन् । समुद्री सतहलाई आधार मानि सगरमाथाको उचाइ मापन गरिएको विभागले जनाएको छ । 

मन्त्रालयले किन रिपोर्ट गोप्य राखेको छ ?

यसबारेमा भूमि व्यवस्था मन्त्रालयका एक उपसचिव भन्छन,‘सम्भवत चीनसँग समन्वय गरेर उचाइ सार्वजनिक गर्ने तयारी नेपाल सरकारको छ । नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पुर्‍याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापनको काम सुरु गरेको थियो । अहिले चीनले सगरमाथाको उचाइ मापनको अन्तिम चरणमा पुर्‍याएको छ । भूमि व्यवस्था मन्त्रालयले नेपाल सरकारसँग सहमति र समन्वय गरी चीनले सगरमाथाको उचाइ मापन गरेको जनाएको छ ।

करिब एक वर्ष अघि चीनका राष्ट्रपति नेपाल आउँदा जारी गरिएको संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ संयुक्त रुपमा सार्वजनिक गर्ने भनी उल्लेख गरिएको थियो । राष्ट्रपतिको उक्त भ्रमण पछि चीनले सगरमाथाको उचाइ मापन गरेको सुरु गरेको थियो । 

‘हामीले नतिजा सार्जजनिक गर्नुभन्दा पनि हामीले सार्वजनिक गरेको नतिजालाई विश्वव्यापी मान्यता कसरी दिलाउन सकिन्छ, यसमा हामी सचेत हुनुपर्छ’ नापी विभागका एक कर्मचारी भन्छन्, ‘ सायद यही कराणले पनि नतिजा सार्वजनिक गर्न ढीलो भएको हुनसक्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ