arrow

कोरोनाले बन्द गरायो समुदायमा ऐँचोपैँचो

logo
प्रकाशित २०७७ असोज १९ सोमबार
coronavirus-hamrakuras1.jpg

टीकापुर । कोरोना कहरले सबैभन्दा वढी जनस्वास्थ्यका क्षेत्रमा गम्भीर असर पुर्याएको छ । यसले सामाजिक परम्परा र प्रचलनलाई समेत परिवर्तन गरिदिएको छ । गाउँघरमा चल्दै आएको ऐँचोपैँचो गर्न अहिले मानिसहरु डराउन थालेका छन् । भजनी नगरपालिका–२ का भागीरथ विकले आजभोली छिमेकीसँग तरकारी ऐँचोपैंचो गरेर खान पनि छोडेको बताए ।

 ‘‘छिमेकमा तरकारी, अन्नपात साटेर खाने चलन थियो, कहिलेकाही छाक टार्न सजिलो हुन्थ्यो’’, उनले भने, ‘‘कोरोना भाइरस  सङ्क्रमणको डरले बाँडीचुडी खान पनि बन्द भयो । जीवन अलि अप्ठ्यारो भएको छ ।’’ गाउँका एक घरमा कुनै चिज भए गाउँभरीको काम चल्ने चलन रहेको थियो । 

अहिले कोरोनाका कारण गाउँघरमा पैँचो दिने कुरामा आनाकानी गर्ने गरेको विशालनगर शिविर टीकापुरका जयसुर सार्कीले सुनाए । ‘‘हामी विपन्न समुदायका मानिस एउटाको घरमा दाल पकाए अर्कोले तरकारी पकाएर खाने चलन छ’’, उनले भने, ‘‘आजभोलि एक अर्काको घर आजजाउ नै बन्द छ । बाँडेर खाए त रोग सर्ला भन्ने डर छ ।’’

टीकापुर ४ की रुबिना साउँदको दुई वर्षीय छोरा छ । रुविना र उनीका छिमेकीको आँगन एउटै छ । सधैँ छिमेकीको घरमै खेल्ने छोराले रुबिनालाई निकै पिरोलेको छ । रुविनाका श्रीमान् जागिरे छन् । ‘‘६ महिनादेखि छोरालाई छिमेकीको घर जान दिएकी छैन, उनीहरुले तिम्रो श्रीमान् घरबाहिर निस्कन्छन्, जोखिम छ यहाँ नआउ भन्छन्’’, रुबिना भन्दछिन्, ‘‘ठीकै हो, अरुलाई किन जोखिममा पार्नु ? तर बच्चाले मानेको छैन । आँगनमा बार लगाएर बच्चा रोकेकी छु । बाँडीचुँडी खान बन्द भएको त ६ महिना पुग्यो । ’’

पछिल्लो समय कोभिड–१९ को जोखिम समुदायस्तरमा फैलिरहकाले नागरिक बढी त्रसित हुन थालेका  बताइएको छ । यो सँगसँगै गाउँघरमा मानिसहरु वल्लोपल्लो घर आउजाउगर्ने आनीबानीमा पनि कमी आएको जानकी गाउँपालिका ५ की कलावती चौधरीले बताइन् । ‘‘फुर्सदमा छिमेकमा जम्मा भएर गफ गर्ने, समुदायका समस्याबारे छलफल गर्ने चलन थियो ’’, उनले भनिन्, ‘‘अचेल त बोल्न पनि डराउँछन्, कामकाजी मानिसको त कोही नजिक पनि पर्न चाहन्न ।’’

गाउँघरमा आफन्तबीच घेटघाट हुने,भलाकुसारी गरिने र दुःखसुख बाड्ने चलन सँगसँगै अभाव भएको नुन, तेल लगायतका सामान छिमेकीसँग माग्दा सम्बन्ध नजिक हुने कुरामा सकारात्मक होला ।  कोरोनाको प्रभाव बढिरहेका बेला यसरी आपसी भेटघाट र अ‍ैचोपैचो गर्नु स्वास्थ्यका दृष्टिकोणले जोखिम भएकाले केही समय नगरेकै राम्रो हुन स्वास्थ्यकर्मीहरु बताउँछन् ।

 ‘‘केही समय बाच्नका  लागि यसो गरिनुलाई गलत रुपमा नबुझौँ, बाचे फेरि राम्रा चलन अपनाउन सकिन्छ’’, टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भने, ‘‘सुरक्षित तवरले सरसापट र सहयोग गर्दा हुन्छ । मानिसलाई हेर्नै नहुने होइन तर सुरक्षित हुनुपर्ने हो । सामाजिक दुरी कायम गरेर कोरोनाबाट बचौँ ।’’ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ