arrow

डा गोविन्द केसीसँग कुन परीक्षण ? 

logo
हाम्राकुरा डेस्क, 
प्रकाशित २०७७ असोज २१ बुधबार
dr-govinda-kc4.jpg

काठमाडौं । एकदिन ब्रत बस्नुपर्यो भने धार्मिक र जातीय विभेद र खोट निकाल्ने समाज हो यो । तीज आउँदा किन ब्रत बस्नुपर्ने भनी पारिवारिक एकतालाई जोडतोडले भत्काउन कोशिश गर्ने समाज हो यो । यसको मतलब यो हैन कि ब्रत बस्नैपर्छ । यो पनि हैन कि श्रीमानका नामका ब्रत बस्नैपर्छ । यो पनि हैन कि महिलामात्र किन पुरुष बसे के हुन्छ ? 

हो प्रश्न अनेक आउँछन् । समाधान निस्किदैन । किनकि मूल्यमान्यता त्यत्तिकै तोडिँदैनन् । त्यसको विगत र वर्तमानलाईलाई केलाइनु पर्छ । समय सापेक्ष बनाउनु पर्छ । अब दशैं आउँदैछ । धर्मका नाममा मारकाट बन्द गरिनु पर्छ भन्ने आवाज चर्को आउँछ । यो यही बेलामा मात्र आउँछ । अरुबेला आउँदैन । ‘अहिंसा परमो धर्म’ । हिंसा कसले चाहेको छ र । 

यहाँ यो पनि भन्न खोजिएको हैन कि धर्मका नाममा मारकाट बन्द गर । यो पनि भन्न खोजिएको हैन कि जे छ ठीक छ । यसमा पनि विगत र वर्तमानलाई कोट्याउनु जरुरी छ । 

तर कुनै प्रायोजित शैलीमा जातजाति र धर्ममाथि कोही पनि नखेलौं । सबैभन्दा बढी त हामी मानव हौं । सर्वश्रेष्ठ प्राणी हौं । मानवभन्दा अर्को ठूलो प्राणी छैन । मिलेर बसौं । एकता गरौं । जातिय र धार्मिक अनि लैंगिक विभेद नगरौं । 

यी साराकुराबाट मुक्त एक फकिर, सन्यासी एवं सत्याग्रही डा गोविन्द केसी छन् । उनलाई बाहिर आउने नानाभाँतीले केही फरक गर्दैन । उनी त शान्त छन् । उनी त सर्वकल्याण अर्थात् सबैको भलो चाहन्छन् । 

अन्याय सहँदैनन् । व्यक्तिगत स्वार्थमा लाग्दैनन् । मानवजातिको रक्षा नै उनको एकमात्र ध्येय छ । वरिष्ठ चिकित्सक भएर पनि उनले कुनै दलगत पुच्छर समातेनन् । उनलाई कतै नियुक्ति वा कुनै पदलोलुपता भएन । 

चिकित्सक भएको नाताले उनले सारा नेपालीले समान व्यवहारमा शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्नेमा अडिग छन् । 

तिनै फेरोहरु समात्दै जाँदा उनले सुशासन नहुँदा बढेको भ्रष्टाचारलाई मूख्य दोषी देखे । बस् १८ औं पटकसम्म उनले गरेका आमरण अनसनपति १९ औं चरणको आमरण अनसनमा यो विषय पनि जोडियो । 

यो सबै जोडिएको केबल नेपालीका लागि मात्र हो । विदेशीको स्वार्थमा उनी कहिल्यै लागेनन् । जसले बिहे गरेर घरजम गरेन, जसलाई आफ्नो जीवन भन्दा दुनियाँको जगत प्यारो लाग्यो उसलाई राम्रैसँग थाहा छ उसले मरेर जाने बेलामा केही पनि लैजाने हैन । 

बुधबार (असोज २१ गते) २४ दिन भइसकेको छ उनी आमरण अनसन बसेको । १९ औं चरणको यो कठिन घडीमा सरकार भने माग पूरा गर्नेतर्फ सरकार लाग्दैन । सत्तारुढ दल नेकपाका केही नेता तथा कार्यकर्ता त गोविन्द केसी परमाधिपति हो र उसका माग पूरा गर्नलाई ? भनी आलोचनासमेत गरेका छन् । 

तर तिनीहरुलाई पनि राम्रैसँग थाहा छ डा केसीमा माग कुनै नाजायज छैनन् । कुनै स्वार्थपूर्ण छैनन् । फेरि सरकारले आफ्नो सत्ता दाउमा राख्नुपर्ने केही पनि छैन । केपी शर्मा ओली नेतृत्वकै सरकारले माग पूरा गर्दा उसकै इज्जत बढ्ने हो । 

सत्याग्रही ढिट हुन्छ । दृढ निश्चियी हुन्छ । त्यही निश्चयीले अहिले २४ दिनदेखि केही खाइरहेको छैन । उसले देशका नाममा ब्रत बसेको छ । 

उनै केसीले औपचारिक सहमतिका लागि वार्ता टोली पठाउन सरकारी प्रतिनिधिलाई आग्रह गरेका छन् । उनी 
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत् छन् । 

मंगलबार केसीलाई भेट्न शिक्षासचिव र सहसचिवको टोली शिक्षण अस्पताल पुगेको थियो । शिक्षासचिव गोपीनाथ मैनालीले डा. केसीलाई भेटेर सबै माग जायज रहेको र पूरा गर्ने भन्दै उपयुक्त समय नभएकाले सत्याग्रह तोड्न आग्रह गरेका थिए । 

तर डा.केसीले अनशन जारी राख्ने अडान दोहोर्याएका छन् । अर्थात् सरकार उनको अहिलेसम्मको मेहनतमा पानी फेर्न चाहन्छ । एउटा अनसनकारीलाई अनसन गर्ने समय ३६५ दिनमा कुन उत्तम हो ? कसैले भन्न सक्दैन । 

कोरोनाको महामारीका बेलामा सबैले पीसीआर परीक्षण गर्न पाउनुपर्ने, यो व्यवस्थित हुनुपर्ने भन्ने माग गत वर्ष राखेर हुन्थ्यो र ? 

सरकार यतातर्फ गम्भीर बनेको छैन । डा केसी भदौ २९ गतेबाट जुम्लादेखि अनसन थालेका हुन् । सरकारले गत असोज ६ गते नै काठमाडौं ल्यायो अपहरण शैलीमा उपचार गर्ने नाममा । खोइ त न उपचार न वार्ताबाट सहमति । 

एक दिन ब्रत बसेर अर्को दिन यो भयो त त्यो भयो भनी बखान गर्ने समाज भएकामा उनी २४ दिनदेखि अन्नविहीन छन् । उनको स्वास्थ्य के भयो होला । 

उनी निकट चिकित्सकहरु भन्छन् –जुनसुकै बेला जे पनि हुन सक्छ । सरकार डा गोविन्द केसीसँग कुन परीक्षण ? एउटा सत्याग्रहीले आफूलाई जितेको छ । उसँग फेरि कुन परीक्षण ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ