arrow

डा केसीको सत्याग्रहलाई सरकारी वेवास्ता, चिकित्सक संघको स्वास्थ्य सेवा बहिष्कारसम्मका कार्यक्रम

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २१ बुधबार
govinda-kc1.jpg

काठमाडौं। नेपाल चिकित्सक संघले सत्याग्रहमा बसेका डा गोविन्द केसीको माग सुनुवाई नगरी सरकारले वेवास्ता गरेको भन्दै स्वास्थ्य सेवा बहिष्कार सहितका कार्यक्रम घोषणा गरेको छ । संघले असोज २२ गते बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगणमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दै धर्ना गर्ने भएको छ। 

संघले असोज २२ गतेदेखि संघका शाखा कार्यालयहरुमा र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाई अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अनसन गर्ने कार्यक्रम समेत ल्याएको छ। उल्लेखित अवधिभर डा. गोविन्द के.सी.को सत्याग्रह अन्त्यका लागि सहज वातावरण नगराईएको अवस्थामा संघले असोज २३ गते शुक्रबार १ दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय समेत गरेको छ। उल्लेखित अवधिभित्र बार्ताटोली बनाई सत्याग्रहको अन्त्य नगरिएको अवस्थामा थप कडा विरोधका कार्यक्रमहरु सार्वजनिक गरिने समेत संघले जनाएको छ । 

संघद्वारा घोषणा गरिएका बिरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने संघले चेतावनी दिएको छ । संघले नेपाल सरकारलाई कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सेवा प्रवाहमा उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिको मनन गरी अबिलम्ब वार्ताटोली गठन गरेर वार्ता र सम्वादको माध्यमद्वारा सत्याग्रहको अन्त्य गर्न आग्रह गरेको छ । संघ नेपाल सरकारले चाहेको अवस्थामा जुनसुकै बेला वार्ताका निम्ती सहजीकरणको भूमिका निर्वाह गर्न समेत तयार रहेको महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

यसअघी संघले डा. गोविन्द के.सी. को १९ औं आमरण अनशनका सम्बन्धमा आश्विन १८ गतेका दिन डा. के.सी.को जीवन रक्षाका निम्ती नेपाल सरकारलाई ७२ घण्टाको समयावधि उपलब्ध गराई वार्ता टोली गठन गरी वार्ता र संवादको माध्यमबाट अबिलम्ब सत्याग्रहको अन्त्य गर्न आग्रह गरेको थियो । तर सत्याग्रहको २४ औं दिन पुगी सक्दा समेत सरकारले वार्ताटोली पनि गठन नगरी बेवास्ता गरेपछि संघले बिरोधका कार्यक्रम सार्वजनिक गरेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ