arrow

लकडाउन लाग्न लाग्या हो ? 

सरकारलाई कतिसम्म विपद् भयो भने लाग्छ कि ‘अब बर्बाद भयो जाग्नुपर्छ’

logo
हाम्राकुरा डेस्क, 
प्रकाशित २०७७ असोज २२ बिहिबार
corona-lockdown-hamrakura.jpg

काठमाडौं । दुई साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्ने बताएका थिए । असोज २१ गते बुधबार अपरान्ह उनी आफैले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको बताए । बुधबार त अहिलेसम्मकै सबैभन्दा बढी ३ हजार ४३९ संक्रमित थपिए । जसमा १ हजार २६१ महिला तथा २ हजार १७८ जना पुरुष हुन् । 

काठमाडौं उपत्यकामा कहाली लाग्दो शैलीमा १ हजार ६८४ जना संक्रमित थपिए । जहाँ काठमाडौंमा १ हजार २९६ जना, ललितपुरमा २९३ तथा भक्तपुरमा ९५ जना थपिए । त्यसैगरी मोरङमा ३२२, सुनसरीमा १९३ चितवनमा १३१, रुपन्देहीमा १३०, बाँकेमा १०६, मकवानपुरमा ९९ र सुर्खेतमा ७८ जना थपिए । 

अहिलेसम्म कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । बुधबारै १५ जनाको ज्यान गएको छ । मृतक ५७८ पुगिसकेका छन् । 

अचम्म त के भने मात्र १४ हजार २०९ परीक्षण भएको छ । तर संक्रमित ३ हजार ४ सय भन्दा बढी । निकै बढी प्रतिशतमा कोरोना फैलिएको छ । 

यदि यो परीक्षणको दायरा बढाउन सकेको भए दैनिक १० हजार भन्दा बढी संक्रमित थपिने निश्चित छ । काठमाडौं उपत्यकाको स्थिति कहाली लाग्दो छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम गफी निस्के । उनले २५ हजार नाघेपछि खोइ त सरकारलाई लकडाउन लगाउन सिफारिस गरेको ? 

हुनत असोज ७ गते नै कोभिड १९ सिफारिस समितिले २५ हजार पुगेपछि लकडाउन लगाउन सिफारिस गरेको थियो । तर अहिले त्यसमा सरकार चुकेको छ । 

अनि त्यसैगरी सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यसबारे चुइक्क बोलेनन् । सरकारले त यो अवस्थामा क्याम्पसहरुको परीक्षा गर्ने स्वीकृति पो दियो । 

यसबाटै स्पष्ट हुन्छ सरकारले ‘बच्न सके बच नत्र फस’ भनिरहेको छ । सरकारले अस्पतालमा आइसोलेसन छैन भनिरहेको छ । अर्बौं रकम कहाँ स्वाहा भयो भन्ने एक एक रुपैयाँको हिसाब सरकारले दिनैपर्नेछ । अहिले नभए भोलि र भोलि नभए पर्सी त जनताले हिसाब माग्छन् नै । किनकि कतिपय नेपालीले परीक्षण गराउन नपाएरै छट्पटिनु परेको छ । 

बुधबार १४ हजार ४११ जना होम आइशोलेशनमा बस्दा मात्र १० हजार ५९६ जना संस्थागत आइशोलेशनमा छन् । कतिसम्म अन्याय छ । कतिसम्म पीडा छ । 

सबैलाई बराबरी स्वास्थ्य सेवा देऊ भन्दा डा. गोविन्द केसी उता शिक्षण अस्पतालमा २५ दिनदेखि छट्पटाइरहेका छन् आमरण अनसन बसेर । सारा नेपालीको स्वास्थ्यमाथि खेल्न सक्ने सरकारले डा. केसीलाई किन टेर्दथ्यो र । 

सबै क्षेत्र खुल्ला गरिसकेको छ । सहर बजार हेर्दा थाहा हुन्छ मानिसहरुको भीड । कहिँ कतै डर देखिँदैन । सरकारलाई वास्ता छैन । तर त्यो भिडमा कोरोनाका थुप्रै क्यारियर डुलिरहेका छन् । कि उनीहरुलाई पनि थाहा नहुन सक्छ । कि थाहा भए पनि डुलिरहेका छन् । खाने जोहो गरिरहेका छन् । 

कुनै पनि ठाउँमा कोरोनाको चिन्ता देखिँदैन । तर समुदाय समुदायमा छिरेको छ कोरोना भाइरस । बुधबारको तथ्यांकले त परीक्षणको ३० प्रतिशत भन्दा बढीलाई कोरोना लागेको छ । 

अब सरकारलाई कतिसम्म विपद् भयो भने लाग्छ कि ‘अब बर्बाद भयो जाग्नुपर्छ’ । त जबजब नेपाली चाडपर्वहरु आउँछन् तबतब दशैं घरमा बसेर मनाऔं भन्छ । अहिले सहर बजारमा के चलिरहेको छ ? 

अनि सरकार जिम्मेवार बन्छ कहिले ? नेपालीहरु कुन पीडामा छन् भन्ने सरकारलाई जानकारी हुनुपर्छ कि पर्दैन ? 

सरकारलाई कतिसम्म विपद् भयो भने लाग्छ कि ‘अब बर्बाद भयो जाग्नुपर्छ’ ?

अहिले धेरैका फोन आउन थालेका छन्, लकडाउन लाग्न लाग्या हो ? हुन पनि चैत ११ गते सरकारले लकडाउन लगाउँदा नेपालमा जम्मा २ जना संक्रमित थिए । त्यसमा पनि एक जनालाई त निको नै भइसकेको थियो । 

अहिले आएर यतिधेरै संक्रमित हुँदा पनि सरकारले वास्ता गरिरहेको छैन । जागिरहेको छैन । स्वास्थ्यका प्रवक्ता डा. गौतम त हुँदाहुँदा कुनै कुनै ठाउँमा मात्र लकडाउन गर्न सकिने र कुल संक्रमितको ३५ प्रतिशत नै काठमाडौं उपत्यकामा ५० हजार सक्रिय संक्रमित हुँदा पनि लकडाउन लगाउन नपर्ने पनि हुन सक्ने बताइरहेका छन् । 

आखिर कहिले जाग्छ सरकार ? कहिले गर्छ अत्यधिक परीक्षण ? कहिले राख्छ संक्रमितलाई संस्थागत आइसोलेसनमा ? घरमै आइसोलेसनमा बस्दा घरबाट समुदायमा कोरोना फैलिसकेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ