arrow

समुदायको कुन तहसम्म फैलिएको छ कोरोना ?

संक्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौँ । सरकारले कोभिड– १९ को संक्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली शुक्रबारदेखि सातवटै प्रदेशमा खटाएको छ । काठमाडौँमा तालीमपश्चात टोलीलाई शुक्रबार प्रदेश खटाइएको हो । 

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको बताए । अध्ययनबाट नेपालमा समुदायस्तरमा संक्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उनले जानकारी दिए । 

एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ । टोली शुक्रबार सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालीमपश्चात आइतबारबाट रगतको नमूना सङ्कलन गर्नेछ । नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ । संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । 

गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरमै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हुन्छ तर नेपालमा कुनै खासखास ठाउँमा (क्लस्टर) मा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ । 

“नेपालमा अहिले केही जिल्लाका  खासखास ठाउँमा (क्लस्टरं)मा संक्रमण फैलिएको छ”, उनले भने, “अब समुदायको कुन तहसम्म फैलिएको छ भन्ने त अध्ययनबाट थाहा हुन्छ ।” गत माघ १० गते नेपालमा पहिलो पटक संक्रमण देखिएको थियो । 

अहिलेसम्म नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण देखिएको छ । यस्तै ७१ हजार ३४३ जना संक्रमणबाट निको भएको, ५९०  जनाको निधन र २६ हजार ६८४ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै अहिलेसम्म २३५ जना आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । महाशाखाले एन्टिबडी परीक्षणका लागि प्रत्येक प्रदेशमा छ समूह परिचालन गरेको छ । ती समूहले बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर तथा समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिसको रगत सङ्कलनबाट एन्टिबडी परीक्षण गर्ने छन् । 

यस्तै संक्रमित भएका र नभएकाको पनि एन्टिबडी परीक्षण गर्नेछ । महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वडामा रहेका मानिसको रगत नमूना परीक्षण गरिने बताए । उनका अनुसार एक वडामा १५ जनाको दरले नमूना परीक्षण गरिने छ । 

यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १५० जनाको नमूना सकलन गरी परीक्षण गरिने छ । उनले दशैँ अगाडि सबै नमूना सङ्कलन गरेर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताए । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि मन्त्रालयले समुदायस्तरमा संक्रमण फैलिएको भन्नेबारेमा अध्ययन शुरु गरेको हो । 

अध्ययनका क्रममा जति प्रतिशतलाई संक्रमण देखियो त्यतिप्रतिशत नै नेपालमा संक्रमण फैलिएको भन्ने अनुमान गर्न सकिने महाशाखाका जनस्वास्थ्य अधिकृत महतोले जानकारी दिए । “संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ”, महाशाखाका निर्देशक डा पाण्डेले भने, “तर अब अध्ययन गरेपछि मात्र समुदायमा संक्रमण छ वा छैन भन्ने पुष्टि गर्दछ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ