arrow

कहाँ पुग्यो डा केसीका टोलीसँगको वार्ता ?

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
dr-kc-bed.JPG

काठमाडौँ । सरकारले बुधबार गठन गरेको वार्ता टोली र अनशनरत प्रा डा गोविन्द केसीपक्षीय प्रतिनिधिमण्डल सकेसम्म छिटो सहमति गरेर अनशन तोडाउने प्रयासमा जुटेका छन् । प्रा डा केसीको मागका विषयमा सहमति जुटाउन दुवै वार्ता टोलीबीच बिहीबार बिहान १०:३० बजेदेखि वार्ता भएको थियो । दिनभरजसो नै दुई टोलीबीच प्रा डा केसीका मागका विषयमा बुँदागत रुपमा छलफल गरिएको वार्ता टोलीका एक सदस्यले जानकारी दिए । 
 
राति अबेरसम्म भएको वार्ताले निकास ननिकाले पनि सकारात्मक दिशातर्फ अघि बढेको र शुक्रबार पुन:वार्ता बस्ने गरी टुङ्गिएको थियो । प्रा डा केसीका तर्फबाट वार्ता टोलीमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले शुक्रबार वार्ता बस्ने तय भए पनि समय निश्चित नभएको राससलाई जानकारी दिए । “हिजो दुई पक्षबीच जे निष्कर्ष निकालिएको थियो, माथिल्लो तहमा रिपोर्टिङ गरेर शुक्रबार पुन:वार्ता बस्ने सहमति भएको थियो तर सरकारी टोलीबाट अहिलेसम्म कुनै जानकारी आएको छैन, हामी वार्ताको तयारीका साथ बसेका छौँ”, अधिवक्ता अर्यालले भने । अर्यालले सकेसम्म छिटो निकास निकालेर अनशन तोडाउने पक्षमा दुवै टोली रहेको जानकारी दिए ।
 
सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीका संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी टोलीमा सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा सहभागी हुनुहुन्छ । सरकारले टोली गठन गरेलगत्तै प्रा डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो । उक्त टोलीमा डा अञ्जनीकुमार झा, अधिवक्ता अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की सहभागी हुनुहुन्छ । 
 
चिकित्सा शिक्षा सेवा सुधारका लागि प्रा डा केसीले भदौ २९ गते जुम्लाबाट आफ्नो १९औँ अनशन शुरु गर्नुभएको थियो । प्रा डा केसीले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गर्नुभएको छ । अनशन शुरु भएको आठौँ दिनमा उनलाई सरकारले काठमाडौँ ल्याएको थियो ।
 
उनले नि:शुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँच, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन शुरु गरिनुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदेश तथा विभिन्न विकट जिल्लामा अस्पताल र मेडिकल कलेज स्थापना गर्नुपर्नेलगायत माग राखेका छन्  । प्रा डा केसीको जीवनरक्षाको माग गर्दै मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ भने चिकित्सकहरुसमेत आन्दोलित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ