arrow

एकै पटक २७ कर्मचारीमा संक्रमण देखिएपछि माथिल्लो दोर्दी ‘ए’ बन्द

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
covid-test-corona.jpg

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित  आयोजनामा कार्यरत २७  कर्मचारीमा मङ्गलबार साँझ एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि आयोजनाको निर्माण बन्द गरिएको हो । 

आयोजनामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएकाले जोखिम र कामदारको अभावले आयोजनाको निर्माण बन्द गरिएको आयोजनाका राजेन्द्र वस्तीले बताए । आयोजनाको अधिकांश निर्माण सम्पन्न भई  विद्युत्गृहको काम बाँकी  छ । हालसम्म ९८ प्रतिशत निर्माण  सम्पन्न भइसकेको र आगामी मङ्सिरदेखि  बिजुली बाल्ने तयारी भए पनि कोभिड १९ ले प्रभाव पार्ने देखिएको आयोजनाले जनाएको छ । 

 आयोजना विसं २०७१ देखि थालनी हुँदै आएको छ । विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा  सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । सम्झौतानुसार  आयोजनाको निर्माण  सम्पन्न गर्नुपर्ने समय गत चैत ३० गतेसम्म  थियो । 

 निर्माण लम्बिँदा लागत रु ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको छ ।  शुरुमा रु तीन अर्ब ९६ करोड लगानीमा  सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने अनुमान आयोजनाले गरेको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख  लाग्ने कम्पनीको अनुमान छ । 

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात  सय मिटर लामो भूमिगत सुरुङ र त्यत्तिकै लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत्गृहमा झारिने छ । 

  आयोजनामा १२ दशमलव ५ का दुई वटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ ।  आयोजनाको बिजुली हिउँदमा रु ८ र पैसा ४० तथा  वर्षायाममा रु चार र पैसा ८ हुने गरी प्रवद्र्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ