बनेपा काभ्रेको कोरोना ‘हट–स्पट’

प्रकाशित मिति : २०७७ कार्तिक ४ मंगलबार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोरोना संक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस् संक्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको हो । 

हालसम्म बनेपाका २९२  पुरुष र २०८ महिलामा संक्रमण भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । यसमध्ये १७६ पुरुष र १०६ महिला संक्रमणमुक्त भएका छन् । नगरका अनुसार संक्रमितमध्ये चारको मृत्यु भएको छ । हाल नगरमा २१४ सक्रिय संक्रमित छन् । नगरका दुई हजार ३९ को पिसिआर परीक्षणमा पाँच सयमा कोरोना संक्रमण देखिएको हो ।
 
बनेपाका नगरप्रमुख लक्ष्मी नरसिं वादे, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती र ११ वडाका अध्यक्ष शिवकुमार थापालगायत पाँच कर्मचारीसमेतलाई हाल कोरोना संक्रमण भएको छ । यसकारण, नगर कार्यालयमा आइतबारदेखि अत्यावश्यकबाहेकको सेवा बन्द रहेको जनाइएको छ । नगर कार्यालय अवस्थित बनेपा सहर काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्र हो । 

यसैबीच, सातादेखि काभ्रेपलाञ्चोकमा संक्रमितको संख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार सोमबार ४१ संक्रमित थपिएसँगै जिल्लामा ४८६ महिला र ७९८ पुरुष संक्रमित भएका हुन् । कुल सक्रिय संक्रमितमध्ये सोमबारसम्म धुलिखेलमा ३१ प्रतिशत अर्थात् १७३ छन् । पनौतीमा ६८, पाँचखालमा ३५, नमोबुद्धमा ३७, मण्डनदेउपुरमा ३४, रोशीमा १२ संक्रमित रहेका छन् । भुम्लु र बेथानचोक गाउँपालिकाको एक-एकजनामा संक्रमण देखिएको छ । 

यसैबीच, काभ्रेपलाञ्चोकको १३ मध्ये चार गाउँपालिका कोरोनामुक्त छन् । महाभारत, तेमाल, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् । काभ्रेपलाञ्चोकमा हालसम्म आठ पुरुष र छ महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमितमध्ये २४९ महिला तथा ४५३ पुरुषमा संक्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा.नरेन्द्र झाले जानकारी दिए । 

पोष्टका अनुसार कूल संक्रमितमध्ये ६३ प्रतिशत पुरुष हुन् । हाल सक्रीय संक्रमितमध्ये १५३ अस्पताल र ४१६ होम आइसोलेशनमा उपचाररत छन् । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । 

नयाँ