arrow

पहिले जस्तो रहेन अहिले दशैँको रौनक

logo
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
tika-selfie.jpg

काठमाडौं । राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । 

शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको भीड भेटिन्थ्यो । तर यस वर्ष भने पिङ भेट्न नसकिएको कागेश्वरी मनोहरा–५ की मनीषा सिम्खडाले बताइन् । 

साना बच्चाका लागि केही घरको छतमा साना पिङ हालेर खेलाएको दृश्य देखिन्छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भीड बढी हुने र कोरोनाको महामारी फैलने डरले सांंस्कृतिक खेलको आनन्द लिनबाट मानिस बञ्चित भएका छन् । 

गोकर्णेश्वर नगरपालिका–३ स्थित पर्यटकीय स्थल तारेभीरमा भने स्थानीयवासी दशैँमा पिङ खेलेर रमाइरहेका भेटिन्छन् । पिङमा रम्ने काठमाडौँका अन्य क्षेत्रका मानिस यस वर्ष भने सामाजिक सञ्जालमा व्यस्त छन् । धेरैको चाहना नयाँ नयाँ टिक टक बनाएर पोष्ट गर्नतिर गएको छ । आपसमा भेटघाट गर्न पनि मानिस डराएका छन् ।

कोरोनाबाट बच्न नजिकको आफन्तकहाँ मात्र पुगेर मान्यजनबाट आशीर्वाद लिएका मानिस राजधानीकै एक कुनाबाट अर्को कुनामा जान सकेका छैनन् । 

निजी सवारी हुनेहरु आफन्तकहाँ पुगेपनि सार्वजनिक यातायात प्रयोग गरेर जानेहरु बढ्दो सङ्क्रमणबाट हिँड्न तर्सिएका छन् । 

सामाजिक सञ्जालद्वारा मान्यजनबाट आशीर्वाद लिएर चित्त बुझाएको चन्द्रागिरी–१ का रामचन्द्र भण्डारीले बताए । त्रासकै बीच यस वर्ष राजधानी बाहिर जाने सवारीमा पनि विगत वर्षमा जस्तो भीड भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ