arrow

चाडबाडसँगै उपत्यकामा कोरोनाको जोखिम बढ्ने चिन्ता

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
ktm-vacle.jpg

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ को संक्रमणले काठमाडौँ उपत्यका थप जोखिममा परेकाले यहाँका स्थानीय तहका जनप्रतिनिधि चिन्तित बनेका छन् । चाडबाडका कारण मानिसको आवतजावत बढ्दा संक्रमणले थप गति लिने  जनप्रतिनिधिको आशङ्का छ । 

उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ अवस्था थप जटिल बन्दै गएकाले स्वास्थ्य मापदण्डको पालना गरी दैनिक गतिविधि गर्न सर्वसाधारणसँग आग्रह गर्छन् । स्थानीय तहले पनि सोहीअनुसार नियन्त्रणका उपाय अपनाएर कार्य सञ्चालन गर्नाको विकल्प नभएको श्रेष्ठ बताउछन् । 

मुलुकका संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका छन् । आजको मात्रै विवरण हेर्ने हो भने पनि नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ८२४ संक्रमितमध्ये एक हजार ६२२ उपत्यकाका छन् । श्रेष्ठ उपत्यकाको जोखिमपूर्ण अबस्थामा संक्रमितको खोजी गरी उपचारको दायरामा ल्याउने र उनीहरुको सम्पर्कमा परेका व्यक्तिको परीक्षणलाई तीव्रता दिनुपर्ने टड्कारो आवश्यकता रहेको औँल्याउछन्।
 
यद्यपि चाडबाडका कारण त्यहीअनुसारको तयारीका गतिविधि सञ्चालन हुन भने नसकेको सर्वसाधारणको बुझाइ छ । काठमाडौँका एक व्यवसायी राजेश नहर्की विगतमा भन्दा संक्रमण रोक्ने गतिविधि न्यून भएको महसुस गरिएको बताउछन् । स्वास्थ्य मापदण्ड कार्यान्वयनमा कडाइ नहुँदा सर्वसाधारणले उल्लङ्घन गर्ने क्रम बढेको छ । मास्क नलगाउने, जथाभावी सामूहिक गतिविधिमा सहभागी हुने, भौतिक दूरी कायम नगर्ने जस्ता क्रियाकलाप उपत्यकामा देखिन थालेको छ । त्यस्ता गतिविधि रोक्न प्रहरीले चालेको कदमसमेत फितलो भएको सर्वसाधारणको ठम्याइ छ ।

मुलकमा दैनिक देखिएका संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकाका छन् । संक्रमणदरअनुसारको तयारी नपुगेको उपत्यका नगरपालिका फोरमको भनाइ छ । विगतमा दिइएको सुझावसमेत कार्यान्वयन हुन नसक्दा जोखिम बढेको फोरम जनाउँछ । त्यसैले अब आफ्नो नगरका जनतालाई सुरक्षित राख्न क्षमताले भ्याएका गतिविधिमा महानगर-नगर सक्रिय भएर लागेको फोरम सचिव श्रेष्ठ बताउछन् ।

“विगतमा हामीले नाका खुला नगरौँ, सार्वजनिक सवारीलाई उपत्यकाभित्र प्रवेश रोकौँ भनेर सुझाव दिएका थियौँ, त्यो कार्यान्वयन नहुँदा स्थिति जटिल बन्दै गएको हो”, सचिव श्रेष्ठले भने, “अहिले अवस्था खराब हुँदै गएको छ, कोभिडसँग जुध्दै नियन्त्रणका उपाय अपनाउनुको विकल्प छैन ।” उनले स्थानीय तह सङ्घीय सरकारको बाटो नहेरी आआफ्ना नगरमा आइसोलेशन शय्या बनाउने, सम्पर्क व्यक्तिको परीक्षण गराउने र उपचारलाई तीव्रता दिने गतिविधिमा सक्रिय भएर लागेको जिकिर गरे ।

भर्खरै बडादशैँ सकिएकाले मानिस ७७ वटै जिल्लाबाट उपत्यका फर्कने र उपत्यकाबाट बाहिरी जिल्ला जाने क्रम जारी छ । यस्तो अवस्थामा अझै प्रभावकारी उपय अपनाउनु जरुरी हुन्छ, तर एकातर्फ संक्रमण बढ्दो र अर्कातर्फ चाडबाडका कारण प्रभावकारी कदम चाल्न सकिरहेको देखिँदैन । यस अवस्थामा उपत्यका नगरपालिका फोरमले समेत आफ्ना गतिविधिलाई विगत झैँ प्रभावकारी पार्न सकिरहेको देखिँदैन । फोरमको बैठक नबसेको निकै समय भइसकेको छ । 


फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोभिड­१९ संक्रमण रोक्न कसरी जाने भनेर बैठकको तयारी गरिएको बताउछन् । कोभिड–१९ संक्रमणबाट भर्खर छुट्कारा पाएका प्रमुख महर्जनले दशैँपछि समुदायमा देखिएको संक्रमणको अबस्था र त्यसलाई रोक्न चाल्ने कदमबारे निर्णय गर्न सोमबार महानगरले बैठक बोलाएको जानकारी दिए । उनी पनि उपत्यका नगरपालिका फोरमले गरेको निर्णयलाई शुरुआती चरणमा सङ्घीय सरकारले सकारात्मक रुपमा लिएर आवश्यक निर्णय गरे पनि पछिल्लो समयमा त्यसो हुन नसक्दा जोखिम बढेको जिकिर गर्छन् ।

“नाका सिल गर्ने, आवागमन व्यवस्थित गर्नेदेखि सार्वजनिक यातायातलाई उपत्यका प्रवेशमा रोक लगाउन फोरमले सुझाव दियो तर कार्यान्वयन भएन”, महर्जनले भने, “अब एकीकृत रुपमा होइन, आआफ्नो नगर जोगाउन सबै जनप्रतिनिधि खटिनुपर्छ, हामी अहिले त्यही अभियानमा छौँ ।”

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी  कोभिड–१९ संक्रमणका विषयमा कसैले पनि खेलबाड गर्न नहुनेमा जोड दिन्छिन्। “जनताको सुरक्षा पहिलो कुरा हो, सरकारले सबै बेहोर्नुपर्छ, उपचार गर्न सकिँदैन भनेर सार्वजनिक गर्दा त्यसले पार्ने नकारात्मक असरबारे विचार गर्नुपर्छ”, खड्गीले भनिन्, “जनताको मनोबल बढाउने काम गरौँ, घटाउने होइन ।” उनले उपत्यकामा पछिल्लो समयमा नियन्त्रणका लागि भएका गतिविधिमा आफैँ जनप्रतिनिधि भएर पनि चुकेको महसुस भएको प्रतिक्रिया दिइन् ।

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका चन्द्रागिरि नगरपालिकाको नागढुङ्गा हो । त्यहाँको प्रवेशविन्दुबाट मानिसको आवागमन व्यापक रुपमा बढिरहेको छ । नागढुङ्गालगायत उपत्यका छिर्ने नाका व्यवस्थित गर्न सरकारी तहबाटै निर्णय जरुरी रहेको बताउने उक्त नगरपालिकाका प्रमुख घनश्याम गिरी क्षमताले भ्याएसम्मका गतिविधि गरिरहेको जानकारी दिछन्। 

उनले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालसँगको सहकार्यमा निशुःल्क परीक्षणको व्यवस्था गरिएको र घरघर निशुःल्क हेल्थ किट वितरण गर्ने काम जारी राखेको बताए । “आफ्नो नगर जोगाउनु हाम्र्रै जिम्मेवारी हो भनेर लागेका छौँ, नाकाका विषयमा भने नगरपालिकाले मात्रै केही गर्न नसक्ने हुँदा सरकारी तहबाटै पहल हुनु जरुरी छ”, गिरीले थपे । 

तारकेश्वर, गोकर्णेश्वर, टोखा नगरपालिका मात्रै होइन भक्तपुरका विभिन्न नगरापलिकालगायत उपत्यकाका १८ वटै नगरले आफ्नो क्षमतानुसार जोखिम रोक्ने गतिविधिलाई निरन्तरता दिइरहेको जनाए पनि पछिल्ला चरणमा प्रभावकारी हुन नसकेको गुनासो बढ्न थालेको छ । 

चाडबाडसँगै मानिसको चहलपहल बढ्दा संक्रमण फैलिन सहयोग पुग्ने भएकाले अझै नियन्त्रणका उपायलाई तीव्र पार्नुपर्ने आवश्यकता रहने नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की सुझाव दिछन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ