arrow

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसी रहेनन्

logo
हरि पन्त,
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
surya-bahadur-kc1.jpg

पोखरा। नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन भएको छ । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको सोमबार राति १०ः३० बजे निधन भएको हो । उनी प्रतिष्ठित व्यवसायीक व्यक्तित्वका रुपमा परिचित थिए । उनको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले बताएको छ । 

२०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसी त्यसयता नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य थिए । सामाजिक क्षेत्रमा पनि उनको उच्च योगदान रहेको छ । समाजसेवा तथा दान दातव्यमा उनी मन फुकाएर सहयोग गर्ने गर्थे।  ६३ वर्षीय केसीमा पहिलेदेखि मिर्गौलाको समस्या रहेको थियो । उनको अचानक रक्तचाप कम भएपछि निधन भएको पारिवारिक स्रोतले बताएको छ । 

कोरोना भाइरसको महामारी फैलिएसँगै उनको मिर्गौला रोगको नियमित फलोअप समेत हुन पाएको थिएन। फलोअपका लागि उनी भारतको नयाँ दिल्ली जाने गर्ने । त्यहि उनको उपचारपछि नियमित फलोअप हुँदै आएको थियो।  सांसद केसी लामो समयदेखि सुगर र उच्च रक्तचापका पनि बिरामी थिए । केसी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्च थिए । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए ।

व्यवसायीक रुपले पनि निकै चर्चित केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक थिए । उनको जलविद्युत क्षेत्रमासमेत ठूलो लगानी रहेको थियो । केसी माछापुच्छ्रे बैंकका संस्थापक समेत रहेका थिए। केसी संस्थापक भएरै शुरु गरेको माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय अहिहले पनि पोखरा नै रहेको छ ।  

नेपालकै पहिलो चाउचाउ (आहा रारा) उद्योग शुरु गरेका केसीले २०२३ सालमा राइस मिल, २०२८ सालदेखि निर्माण व्यवसायीमा आबद्ध भएका थिए । १४ वर्षदेखि व्यावसायिक यात्रामा होमिएका केसी सामाजिक, राजनीतिक, ऊर्जा, खाद्य, बैंकिङ, उद्योग लगायतका क्षेत्रमा लाग्दै आएका थिए । 

केसीका श्रीमती र तीन जना छोरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ