arrow

नेपाल भारत रक्षा सहकार्य सुदृढ पार्न भारतीय सेनाध्यक्ष नरवणेको जोड

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
kp-oli-mm-narbane.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेर भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले आफ्नो ३ दिने नेपाल भ्रमण सकाएका छन् । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न ३ दिने नेपाल भ्रमणमा आएका सेनाध्यक्ष नरवणेले सो क्रममा अन्य भेटघाट तथा कार्यक्रममा सहभागि भइ स्वदेश फर्किएका छन् । नरवणेले भ्रमणको अन्तिम दिन रक्षामन्त्रीको जिम्मेवारी पनि सम्हालेका प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए । भारतीय राजदूत विनय मोहन क्वात्रा तथा अन्य भारतीय अधिकारीहरुको सहित उनले प्रधानमन्त्री ओलीलाई भेटेका थिए।

भेटमा नरवणेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनतालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना सन्देश सुनाएका थिए । उनले नेपाल सरकारको न्यानो आतिथ्यका लागि पनि कृतज्ञता व्यक्त गरेका थिए। भेटवार्तामा भारत र नेपालबीचको विस्तृत द्विपक्षीय साझेदारीबारे दुवै पक्षले छलफल गरेका थिए । जनरल नरवणेले दुई देशबीचको रक्षा सहकार्यलाई अझ सुदृढ पार्ने कुरामा जोड दिएका थिए।

प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुअघि जनरल नरवणेले शिवपुरीस्थित ‘नेपाली आर्मी कमान्ड एण्ड स्टाफ कलेज’ को भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीहरुलाई सम्बोधन गरेका थिए। आफ्नो भ्रमण समापन गर्नु अघि जनरल नरवणे भारतीय राजदूतावास पुगी नेपालमा रहेका करिब दुई लाख तीस हजार भारतीय सेनाका भूतपूर्व सैनिकहरु तथा उनीहरुका परिवारजनका लागि परिचालित कल्याणकारी कार्यहरु बारे जानकारी लिएका थिए। सो क्रममा जनरल नरवणेले भारतको दोस्रो उच्च वीरता पुरस्कार ‘महावीर चक्र’ पदकबाट सम्मानित अवकाश प्राप्त हवल्दार दिलबहादुर क्षेत्रीलाई कल्याणकारी अनुदान प्रदान गरेका थिए । जनरल नरवणेले आफ्नो तीन दिने नेपाल भ्रमण सम्पन्न गरी शुक्रवार बेलुका भारत फर्किएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ