arrow

प्रचण्डले पार्टी फुटाउन खोजेको भन्दै ओलीले गुहारे नेपाल सहितका नेताहरुलाई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
oli-madhav.jpg.jpeg

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतासँग पार्टीलाई बचाएर लैजानु पर्ने भन्दै गुहारेका छन् । पार्टी फूटको संघारमा पुगेकाले यसलाई बचाएर लैजानु परेको भन्दै नेताहरुलाई गुहारेका हुन् ।

चार घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले आफू एकताको पक्षमा रहेको दोहोर्याएका थिए । नेपाल लगायतका नेताहरुले प्रधानमन्त्रीको हैसियतमा बढी जिम्मेवारी भएकाले लचिलो भएर पार्टी कमिटीको बैठक राख्न आग्रह गरेको स्रोतको दावी छ । उनले विगतदेखि पार्टीमा देखिएको समस्याका बारेमा अवगत गराउँदै नेता नेपाल र उनको समूहमा रहेका नेताहरुसँग यस्तो आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेता नेपालसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुटाउन लागिपरेको संकेत गरेका थिए । ‘पार्टी मैले फूटाउन लागेको होइन प्रचण्डले नै पटक पटक पार्टी फूटाउछु भनेका हुन्’, ओलीको भनाई उल्लेख गर्दै स्रोतले भन्यो । अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच शनिबार बिहान बालुवाटारमा चर्काचर्की भएको थियो ।

सचिवालयका पाँचजना नेताले दुईदिनभित्रमा सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएको भोलिपल्टै ओलीले नेता नेपाललाई बोलाएर पार्टी एकता जोगाउन गुहारेका हुन् । जवाफमा माधव नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष तपाई नै भएकाले यसको समाधान पनि तपाईले नै गर्नुपर्छ भनेका थिए । ‘पार्टीको अध्यक्ष र प्रधानमन्त्री तपाई नै हो त्यसकारण बढी जिम्मेवारी तपाईको छ, यसमा हामी दोषी छैनौ’, माधव नेपालले भनेका थिए ।

प्रधानमन्त्री ओलीले निकैबेर गुनासो गरेपछि नेपालले सबै समस्याको जड तपाई आफूले नै बोक्नु भएको बताएका थिए । नेपालले समस्याको जड पार्टी कमिटीको बैठक डाकेर फुकाउन ओलीसँग आग्रह गरेका थिए । बैठकमा सबैका कुरा सुनेर समस्या सुल्झाउनुस भन्दै नेपालले तत्कालै सचिवालय बैठक राख्न आग्रह गरेका थिए । उनीहरुबीच लामो कुराकानी भएपनि ओलीले समस्या समाधानको ठोस प्रस्ताव नल्याएको र समस्या सुल्झाउने गरी खास कुराकानी भने नभएको स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ