arrow

केपी ओलीले नेकपाको अध्यक्ष बन्न गरेको उधारो प्रस्ताव माधव नेपालले गरे अस्वीकार

ऐना हेरेर विगत र अहिलेको अनुहार तुलना गर्न ओलीलाई सुझाव

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
oli-madhav.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आगामी महाधिवेशनबाट अध्यक्ष बनाउने प्रस्ताव गरेपनि माधव नेपालले भने सो प्रस्तावलाई अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओली वचनमा पक्का नभएको भन्दै उनले सो आश्वासन अस्वीकार गरेका हुन् । 

आइतबार दिउसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघु पन्तसहितको भेटघाटमा ओलीले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनाउने र आफूले पूर्ण रुपमा सहयोग गर्ने बताएका थिए । तर नेपालले यस्ता फोस्रा आश्वासन दिएर नअल्मल्याउन आग्रह गर्दै अहिलेको समस्यालाई सामाधान गरेर लैजान ठोस कार्ययोजना मागेका थिए । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अन्तरविरोध चर्किरहेका वेला अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमूहबीच आइतबार छलफल हुँदा ओलीले नेपाललाई अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गरेका थिए । नेता नेपाल र कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँचजना सचिवालय सदस्यले सचिवालयको बैठक बोलाउन माग गरेकै भोलिपल्ट प्रधानमन्त्रीनिवास बालुवाटारमा ओलीले नेपाल समूहका प्रभावशाली नेताहरुलाई पनि साथमा राखेर यस्तो प्रस्ताव गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

छलफलका लागि आइतबार दिउँसो १ बजे नेता नेपालसहितका नेताहरु प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । उनीहरूबीच नेकपामा बढेको ध्रुवीकरण र आन्तरिक द्वन्द्व व्यवस्थापनबारे छलफल हुँदा विवाद समाधान गर्न ओलीले नेपाल समूहलाई मनाउने प्रयासस्वरुप पार्टी अध्यक्ष बनाउने आश्वासन दिएका हुन् ।प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसहित चार नेतासँग पार्टीलाई बचाएर लैजानु पर्ने भन्दै हारगुहार गर्दै त्यसका लागि आफूले जे जस्तो अवस्था आइपरेपनि व्यहोर्ने भन्दै फकाउने प्रयास गरेका थिए । पार्टी फूटको संघारमा पुगेकाले यसलाई बचाएर लैजानु परेको उनले बताए । करिब ३ घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले आफू एकताको पक्षमा रहेको दोहोर्याएका थिए ।

नेपाल लगायतका नेताहरुले प्रधानमन्त्रीको हैसियतमा बढी जिम्मेवारी भएकाले लचिलो भएर पार्टी कमिटीको बैठक राख्न आग्रह गरेको स्रोतको दावी छ । उनले विगतदेखि पार्टीमा देखिएको समस्याका बारेमा अवगत गराउँदै नेता नेपाल र उनको समूहमा रहेका नेताहरुसँग यस्तो आग्रह गरेका थिए ।प्रधानमन्त्री ओलीले नेता नेपालसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुटाउन लागिपरेको संकेत गरेका थिए । ‘पार्टी मैले फूटाउन लागेको होइन प्रचण्डले नै पटक पटक पार्टी फूटाउछु भनेका हुन्’, ओलीको भनाई उल्लेख गर्दै स्रोतले भन्यो ।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच शनिबार बिहान बालुवाटारमा चर्काचर्की भएको थियो । सचिवालयका पाँचजना नेताले दुईदिनभित्रमा सचिवालय बैठक बोलाउन अल्टिमेटम दिएको भोलिपल्टै ओलीले नेता नेपाललाई बोलाएर पार्टी एकता जोगाउन गुहारेका हुन् । वरिष्ठ नेता नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष तपाई नै भएकाले यसको समाधान पनि तपाईले नै गर्नुपर्छ भनेका थिए । ‘पार्टीको अध्यक्ष र प्रधानमन्त्री तपाई नै हो त्यसकारण बढी जिम्मेवारी तपाईको छ, यसमा हामी दोषी छैनौ’, नेता नेपालले भनेका थिए ।

प्रधानमन्त्री ओलीले निकैबेर गुनासो गरेपछि नेपालले सबै समस्याको जड तपाई आफूले नै बोक्नु भएको छ यसलाई खुलाउनुस पार्टी कमिटीको बैठक डाकेर बैठकमा सबैका कुरा सुनेर समस्या सुल्झाउनुस भन्दै नेपालले तत्कालै सचिवालय बैठक राख्न आग्रह गरेका थिए । उनीहरुबीच लामो कुराकानी भएपनि ओलीले समस्या समाधानको ठोस प्रस्ताव नल्याएको र समस्या सुल्झाउने गरी खास कुराकानी भने नभएको स्रोतले जनाएको छ ।

भेटमा सहभागी नेताहरुका अनुसा दुवै नेता आआफ्नै अडानमा रहेका थिए । उनीहरु दुवैले एकअर्कालाई व्यंग्य समेत गर्न भ्याएका थिए । ओलीले आफू निकै स्वस्थ भएको र बलियो भएजस्तो भान भएको तथा अहिले स्वास्थ्य समस्या नभएको बताइरहँदा नेपालले ऐना राखेर विगतको अनुहार र अहिलको अनुहार हेरेर तुलना गर्न आग्रह गरेका थिए । छलफलमा बरिष्ठ नेता नेपालले लामै कुरा राखेका थिए । नेकपा विभाजनको नजिक पुग्नुमा प्रधानमन्त्रीको कार्यशैली प्रमुख रहेको उनले बताउदै समस्या तपाईसँगै रहेको भन्दै आत्मआलोचना गरेर पार्टीको बैठक राख्न आग्रह समेत गरेका थिए ।

‘एकपटक पछाडि फर्केर हेर्नुहोस्, पार्टी आज जुन अवस्थामा आइपुगेको छ, त्यसको जिम्मेवार तपाईं हो’ छलफलमा नेता नेपालको भनाइ थियो, ‘जसरी तपाईं एकलौटी ढंगले अगाडि बढ्नुभयो, सबलाई पेलेर अगाडि बढ्न खोजेपछि त्यसैले ल्याएको असन्तुष्टि हो यो अब पनि यस्तै अवस्था रही रहे एउटा नेताले गरेको गल्तीलाई अरुले सहेर बसिरहनुपर्छ भन्ने छैन ।’

छलफलको क्रममा भीम रावल र सुरेन्द्र पाण्डेले नेकपा कुनै एउटामात्र व्यक्तिले निर्माण नगरेको बताउँदै सामुहिक निर्णयमा विश्वास गर्न आग्रह गरेका थिए । उनीहरुले यो पार्टी धेरै मानिसहरुले निर्माण गरेको स्मरण गराउँदै हिजो पनि सामुहिक निर्णय र नेतृत्वमा चल्थ्यो आज पनि सामूहिक निर्णय र नेतृत्वबाट चल्नुपर्ने, विगतमा जस्तो गल्ती नगरी भदौ २६ गतेको स्थायी कमिटीले दिएको म्याण्डेट लागु गर्नुपर्ने बताएका थिए । तर ओलीले सामूहिक नेतृत्वको विषयमा कुनै पनि धारणा राखेनन् । ओलीले धेरैजसो प्रश्नको जवाफ दिएका भएपनि सामूहिक निर्णयको विषयमा कुनै पनि जवाफ नदिएको स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ