arrow

ओली प्रचण्ड सम्बन्ध : पहिले धम्क्याउने पछि फकाउने

ओली तोकादेश दिएर प्रक्रियामै वैठक बोलाउने तयारीमा, प्रचण्ड बुधवार बोलाउने पक्षमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
oli-prachanda1.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षलाई मिलाउन ओली पक्षका नेताहरुको कसरत जारी रहेको छ। आज विहानै प्रधानमन्त्री केपी शर्मा निकट लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेल ओलीको सन्देश बोकेर खुमलटार पुगेका थिए। खुमलटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गत भदौ २६ गते बसेको स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने सन्देश सुनाएका थिए। सोमबार विष्णु पौडेलले पनि सोही सन्देश सुनाएपनि उनको कुरालाई खासै महत्व नदिएपछि प्रचण्डलाई आश्वास्त पार्न आज विहान पोखरेल खुमलटार पुगेका थिए।

ओलीसँग रुष्ट रहेका कतिपय नेताले सम्हालेका आयोग र विभागले पार्टी बैठकको माग गरिरहेका छन्। तर ओलीले सचिवालयले बनाएको कार्यदलका सदस्यलगायतसँग छलफल मात्र गरेका छैनन्, दोस्रो पुस्ताका नेतालाई अबको नेतृत्वमा आउन हौस्याएका बेला पोखरेल खुमलटार पुगेर ओली दाहालको संवाद शुरु गर्न आग्रह समेत गरेका थिए। ‘प्रधानमन्त्री ज्यूले भदौ २६ गतेको निर्णय कार्यान्वयन गरेर जाऔ भन्नु भएको छ संवाद शुरु गरौ आखिर पार्टी तपाइहरु दुवै जना मिलेर एकता गर्नुभएको हो यसलाई जोगाएर लैजानुमै सबैको हित हुन्छ’, पोखरेलको भनाई उद्यृत गर्दै स्रोतले भन्यो।

तर दाहालले भने सचिवालय बैठक बसेर सबै कुराको छिनोफानौ गरौ एक्लै भेटेर अर्थ छैन भनेका थिए। स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद पुर्नगठन तथा राजनीतिक नियुक्तिमा पार्टी सचिवालय बैठक र दुई अध्यक्षको सहमति लिनुपर्ने उल्लेख छ। सोही विषयमा सरकारका तर्फबाट संयोजन नभएको भन्दै विवाद बल्झेको थियो।

विवाद बल्झदै जाँदा सोमबार साँझ असन्तुष्ट पक्षका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ बसेर सचिवालय बैठक मंगलबारसम्म बोलाउन अल्टिमेटम दिएका थिए। सोही अल्टिमेटम पछि आज विहानै पोखरेल खुमलटार पुगेका हुन्। दाहाल पक्षले मंगलबार ओलीले बैठक बसाल्ने कुरा नगरे बुधबार आफै बैठक बोलाउने तयारी गरेको सन्देश पठाएका छन्। ओलीले तत्कालै सचिवालय बैठक नराख्दा आफै अप्ठ्यारोमा पर्ने भएपछि उनले आफू निकटका नेताहरुलाई परिचालन गरी अप्ठ्यारो फूकाउने कोसिस गरेका हुन्। 

शनिवार कार्यकारी अध्यक्ष दाहालसहित पाँच नेताहरुले उत्पन्न विवाद समाधान गर्न तत्कालै सचिवालय बैठकको माग गर्दै लिखित पत्र बुझाउँदा पनि ओलीले दुई दिनसम्म बैठक नबोलाई विभिन्न चरणमा नेताहरुलाई वालुवाटार बोलाएर छलफल गर्ने र आलटाल गर्न थालेपछि ओली झन अप्ठ्यारोमा परेका छन् । ओलीको त्यो व्यवहारलाई काउण्टर दिन शीर्ष नेता र पूर्व माओवादीसमूहका नेताहरुले सचिवालय बैठक तत्कालै बोलाउन आग्रह गरे । तर ओलीले आफ्ना दूतहरुलाई परिचालन गरेर समस्यालाई सामान्यीकरण गर्न खोजेको स्रोतको दावी छ । यसअघि प्रधानमन्त्री ओलीप्रति सहानुभूति राख्ने नेताहरुले समेत वैठकबाटै समस्याको समाधान खोज्न आग्रह गरिसकेका छन् । तर तत्कालै सचिवालय बैठक राख्ने विषयमा ओली तयार भएका छैनन । शीर्ष नेताहरुले बैठक राख्न बुझाएको पत्रमा तोकादेश गरेर विधान बमोजिम बैठक राख्न खोजिरहेका छन् । विधानमा बहुमत सदस्यहरुले बैठक माग गरे १५ दिनभित्र बैठक बोलाउने प्राबधान रहेको छ । ओली विधान बमोजिम बैठक बोलाउने तयारीमा लागेका हुन् । 

नेकपाको आन्तरिक विवादमा दोस्रो तहका नेताहरुले पहलकदमी लिन भनेपनि उनीहरुलाई शीर्ष नेताहरु खासै पत्याएका छैनन । दोस्रो तहका नेताहरुकै संयोजनमा रहेको तत्कालिन विवाद समाधान कार्यादलका सदस्यहरुलाई शीर्ष नेताहरुले पत्याउन नसकेका हुन् । अर्थमन्त्री एवं महासचिव विष्णु पौडेलले सोमबार दिउसो  प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यदलका सबै सदस्यहरुको भेटघाटका लागि समय मिलाए तर खुमलटार कोटेश्वरमा भने समय मिलाउन सकेनन । बालुवाटारमा पनि पूर्व माओवादीका नेताहरु नगएपछि पुगेपछि पूर्व एमालेका नेताहरु प्रधानमन्त्रीलाई भेट नगरी फर्के । 

प्रधानमन्त्री ओलीले पूरानै कार्यदललाई सक्रिय बनाउन खोजेपनि शीर्ष नेताहरुले भने त्यसलाई खासै महत्व दिएका छैनन । कार्यदलका संयोजक विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल मात्रै वालुवाटार पुगेका थिए । कार्यदलका सदस्यद्वय जनार्दन शर्मा र पम्फा भूषाल बालुवाटार गएनन । तर त्यही समयमा शर्मा भने पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका थिए । उनले पार्टी एकताकै विषयमा कुराकानी गरेका थिए । प्रधानमन्त्री कार्यालय पुगेका कार्यदलका सदस्यहरुले तत्कालिन एमालेका मात्रै नेताहरु भएका कारण त्यसको सन्देश राम्रो नजाने भएकाले वालुवाटार पुगेका सदस्यहरुले प्रधानमन्त्रीलाई नभेटी फर्केको स्थायी कमिटी सदस्य भीम रावलले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ