arrow

तिहारका लागि मेरिगोल्ड फूल फुलाउँदै भण्डारी दम्पती

logo
हरि बाँस्तोला,
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
marigold-flower2.jpg

गण्डकी। पोखरा महानगरपालिका वडा नं १७ विरौटास्थित बाराही नर्सरी यतिखेर मेरिगोल्ड फूलले ढकमक्क ढाकिएको छ। नेपालीको दास्रो महत्वपूर्ण फूलैफूलको पर्व तिहार नजिकिँदै गर्दा नर्सरीका सञ्चालक वसन्त भण्डारी र उनकी श्रीमती सञ्चितालाई मेरिगोल्डले छुट्टै खुशी ल्याएको छ। भाडामा लिएको जग्गामा पुष्प व्यवसाय गरेका उनीहरूका लागि यो व्यवसाय नौलो भने होइन।

आजभन्दा एक दशकअघि विसं २०६६ देखि पुष्प व्यवसायमा लागेका भण्डारी दम्पतीले विगतका वर्षमा राम्रै आम्दानी गरेपछि यसलाई निरन्तरता दिँदै आएका छन्। सञ्चालक सञ्चिताले यस वर्ष करिब एक रोपनी जग्गामा एक हजार २०० अमेरिकन मेरिगोल्ड जातको फूलका बिरुवा रोपेको र उत्पादन राम्रो भएको जानकारी दिए। “एउटा फूलको बोटमा सरदर ३० वटा फूलका थुङ्गा टिप्न तयार भएका छन्”, उनले भने, “प्रतिथुङ्गा रु पाँचमा बिक्री गर्ने सोचमा छौँ।” तिहारमा फूलबाट रु एक लाख ५० हजार आम्दानी गर्ने उनीहरूको लक्ष्य छ।

यतिखेर फूलसहितको बोटलाई २५० मा बिक्री गर्दै आएको बताउँदै उनले फूलका पारखी नर्सरीमै आउने गरेका जानकारी दिए। फूल मात्र नभई बिरुवा बिक्री गरेर पनि राम्रै आम्दानी भएको उनलेलाई जानकारी दिए। गत वर्ष लगभग पाँच रोपनी क्षेत्रफलमा पुष्प व्यवसाय गरेको बताउँदै भण्डारीले विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण यस वर्ष थोरै क्षेत्रफलमा खेती गरेको सुनाए।

बुरुमा बोडीखेती गर्न तयार पारेको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० फूलका बिरुवा किनेर फूलखेती फस्टाएपछि यसलाई व्यवसायका रूपमा अपनाउँदै आएका हुन्। फुर्सदको समयलाई सदुपयोग गर्दै जग्गा तयारीदेखि बिरुवा लगाउने, गोडमेल गर्ने आवश्यकताअनुसार औषधि प्रयोग गर्नु आफूहरूको नित्यकर्म बनेको सञ्चालक वसन्तले बताए।

विगतमा प्लाप्टिक टनेलभित्र र खुला दुवै तरिकाबाट भए पनि यस वर्ष भने खुलारूपमा व्यावसायिक फूलखेती गरेको बताउँदै उहाँले तिहारमा बाहिरबाट आउने फूलसँग प्रतिष्पर्धा गर्नुपर्दा उचित मूल्य नपाउने गरेको गुनासो गरे। बारीमा उत्पादन भएको फूलको प्रतिथुङगा रु पाँच र एउटा मालाको रु ५० देखि रु १०० सम्म बिक्री हुन्छ। महङ्गो बीउ, जनशक्ति अभाव र आवश्यकता अनुसारको प्राविधिक सहयोग प्राप्त हुन नसक्दा उत्पादनको लागत बढी हुने गरेको उनले बताए। उनका अनुसार अमेरिकन मेरिगोल्ड एक पटक मात्र फूल्ने भएकोले तिहारका लागि लक्षित गरिएको हो।

यस वर्ष नर्सरीमा उत्पादित एभोकाडो एक हजार ८००, सुन्तला तीन हजार, कागती एक हजार पाँचसय, ड्रागनफुर्ट एक हजार दुई सय, अम्बा ५००, मेरिगोल्ड फुलका ४००, मेवाका १०० बिरुवा बिक्री गरि तीन लाख पचास हजार भन्दा बढी आम्दानी गरेको भण्डारी दम्पत्ति बताउछन्। पुष्प व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सीतामाया रानाका अनुसार जिल्ला फूलमा आत्मनिर्भर भएको जानकारी दिए। संस्थामा बिभिन्न ३२ वटा फुल उत्पादक नर्सरी आवद्ध रहेको बताउँदै उनले पोखरा र आसपासमा उत्पादित फूलले बजारको मागलाई पूरागर्ने विश्वास व्यक्त गरे। यस वर्ष तिहारको पाँच दिनमा पोखरामा लगभग रु सात करोड भन्दाबढीको कारोबार हुने अनुमान गरिएको छ।

कोरोनाका कारण पनि व्यवसायीले फूल उत्पादनमा कुनै कमी हुन नदिएको बताउँदै अध्यक्ष रानाले बाहिरबाट आउने फूल पूर्णरुपमा विस्थापित गर्नेतर्फ सङ्घ निरन्तर अभियानमा जुट्दै आएका कारण यस वर्ष अन्य जिल्ला तथा विदेशबाट फूल नआउने जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ