arrow

प्रचण्डको बैठक रोकियो, बिष्णु पौडेलले बोलाए सचिवालयको वैठक 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
ncp-sachibalaya4.jpg

काठमाडौं ।  विभाजनको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । पार्टीका दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह ४ बजेका लागि सचिवालय बैठक बोलाएका हुन । 

पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा बैठक बोलाएको महासचिव पौडेलले जानकारी गराएका छन् । प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) बैठक राख्नका लागि सहमति खोजेपनि प्रधानमन्त्री ओलीसँगै दुवै अध्यक्षको परामर्शमा बैठक भोलि शुक्रबार राखिएको हो ।

सचिवालयका असन्तुष्ट पक्षले पार्टी अध्यक्ष ओलीलाई तत्काल बैठक बोलाउन पटक पटक आग्रह गर्दा पनि यसअघि अस्विकार गर्दै आएका थिए । तर आज अर्का अध्यक्ष  प्रचण्डको नेतृत्वमा बैठक बस्ने तयारी भएपछि पौडेलले बैठक बोलाएका छन् । 

अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अनिच्छाका बाबजुद असन्तुष्ट पक्षको पटक पटकको दवावका कारण बैठक बस्ने तय भएको हो । नेकपामा अध्यक्ष प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले तत्काल बैठक बोलाउन ओलीलाई पटक पटक आग्रह गर्दा पनि उनले  अस्विकार गरेपछि गत शनिवार लिखित आग्रह गर्नु परेको थियो ।

ओलीले सो आग्रहलाई वेवास्ता गरेपछि अध्यक्ष प्रचण्ड समूहले विहिबार आजसम्मको अल्टिमेटम दिएका थिए । प्रचण्डले बोलाएको बैठक अव बस्ने संभावना घटेको छ । असन्तुष्ट पक्षले आज दिउसो पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको थियो । सो बैठकमा अध्यक्ष ओली सहभागी नहुने भएपछि उनले महासचिव पौडेललाई अर्को बैठक बोलाउन लगाएका हुन् । 

नेकपाको हालको विधानमा दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने व्यवस्था छ । यो व्यवस्था अनुसार प्रचण्डको आग्रहमा ओलीले महासचिव पौडेललाई बैठक बोलाउन लगाएपछि बैठक बस्ने विषयले उत्पन्न विवाद मत्थर हुने देखिएको छ । अव बैठकमा ओलीप्रति असन्तुष्ट बहुमत सचिवालय सदस्यहरुको भूमिका के होला भन्ने चासो बढेको छ । 

नेकपा सचिवालयमा अध्यक्ष ओलीको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल गरी चार जना छन् भने असन्तुष्टहरुको समूहमा अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठगरी पाँच जना छन् । 

असन्तुष्ट पक्षले सरकारको काम कारबाही, प्रधानमन्त्री ओलीको भूमिका, भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटवार्ता, नक्शालगायतका विषयमा असन्तुष्टि जनाउदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ